काठमाडौं, १८ भदौ । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भाद्र २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।
संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने व्यहोरा समेत जानकारी गराएको ।
विगतमा झै आगामी दिनमा पनि यात्रु तथा भक्तजनहरुले देखाउनु भएको साथ र सद्भावको समेत मनकामना केबुलकारले अपेक्षा गरेको छ ।