काठमाडौं, २० भदौ । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतियो । नेकपा एमाले पनि फुट्यो । फुटबाट नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको छ । एमाले फुटेपछि अध्यक्ष केपी शर्मा ओली बहुमतको दाबी गरिरहेका छन् । उनले माधव नेपाललगायतका नेताहरुलाई देशभर हराएर देखाउन बताइरहेका छन् ।
२०७९ सालभित्र आमनिर्वाचन हुने निश्चितप्रायः भएकाले एमाले फुटेको अवस्थामा चुनावमा गएमा नतिजा दुवै पक्षका लागि सुखद नहुनसक्छ । विगतको अभ्यासले पनि यही देखाएको छ । २०५४ मा एमालेबाट फुटेर गएको नेकपा मालेले २०५६ को चुनावमा देशभर कुनै निर्वाचन क्षेत्रमा जित्न सकेन । नेकपा एमालेको पनि २०५१ को चुनावी परिणामभन्दा सिट संख्या घट्यो ।
एमाले फुटेपछि चुनावी नतिजामा मात्र नकारात्मक असर परेन माओवादी सशस्त्र गतिविधि पनि चुलियो । देशमा राजनीतिक अस्थिरता बढेर गयो ।
एमालेले २०७४ को आमनिर्वाचनमा उल्लेख्य सफलता हासिल गर्नुमा नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धन पनि मुख्य कारण थियो । एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । यो सुर्य चिन्हबाट निर्वाचित हृदयश त्रिपाठीबाहेको संख्या हो ।
गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । १६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।
एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो । २०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।
माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ । माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ ।
प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए । यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।
त्यसमाथि एमाले समेत विभाजित भएकाले थप सिटहरुमा एमालेलाई धक्का लाग्न सक्छ । एमालेबाट फुटेको नेकपा एसलाई पनि देशभर चुनाव सहज छैन । उसले गठबन्धन दलहरुबीच नै चुनावी समन्वयमा जोड दिइरहेको छ । जुन सजिलो छैन ।
१० हजारभन्दा मतान्तरले जीत हासिल गर्नेमा माधव नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या उल्लेख्य छ । जसमा माधवकुमार नेपाल, झलनाथ खनाल, सोमनाथ पाण्डे, विरोध खतिवडा, मेटमणी चौधरी, कृष्णलाल श्रेष्ठ छन् । अब पाण्डेबाहेक सबै नेकपा एसमा पुगेका छन् । पार्टी फुटाएर गएका सांसदहरुलाई पनि चुनावी नतिजा कठिन हुनसक्छ । विभाजनको असर एमाले र नेकपा एस दुवैले चुनावी नतिजाबाट भोग्नुपर्ने देखिन्छ ।