एजेन्सी, २३ भाद्र । अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानले मुल्लाह मोहम्मद हसन अकुन्डको नेतृत्वमा क्याबिनेट घोषणा गरेको छ । क्याबिनेटमा कुनैपनि महिला सदस्य छैनन् । सबै कट्टरपन्थीहरु छन् ।
तालिवान सरकारको अन्तरिम प्रधानमन्त्री अकुन्ड विश्वकै सबैभन्दा विशाल बमियानको बुद्धमूर्ति ध्वस्त पार्न आदेश दिने हुन् । सन् २००१ मा विश्व सम्पदा बामियानको बुद्धमूर्ति ध्वस्त पारेपछि तालिवानको विश्वभरबाट आलोचना भएको थियो । मुल्लाह हसन संयुक्तराष्ट्रसंघको आतंकवादीको सूचीमा छन् । उनी सर्वाधिक खोजीमा परेका आतंकवादीमध्येका हुन् ।
अन्तरिम प्रधानमन्त्रीको दौडमा मुल्लाह हसन र मुल्लाह गनी थिए । गनी कतारस्थित तालिवानको राजनीतिक कार्यालयका प्रमुख थिए । तर, यी दुईबीच प्रधानमन्त्रीको विवाद मिलाउन पाकिस्तानको खुफिया एजेन्सी आइएसआइ प्रमुख जनरल फैज हमिद काबुल पुगेका थिए ।
आइएसआई प्रमुख हमिदले तालिवानभित्र शक्तिसंघर्षमा सहमति बनाइदिए । पाकिस्तानको तालिवान सरकारमा भूमिका प्रष्ट देखिएको छ । आतंकवादी गतिविधिमा मुछिएको हक्कानी नेटवर्क र कान्दाहार आधार बनाएको तालिवानको समूह नयाँ क्याबिनेटमा हावी देखिन्छन् । दोहामा बसेर तालिवानको अन्तर्राष्ट्रिय प्रभाव र समन्वयमा भूमिका खेल्नेहरु पाखा लगाइएका छन् ।
३३ जना क्याबिनेट सदस्यमध्ये २० जना कान्दाहार केन्द्रित तालिवान समूह छन् । ३३ मध्ये ३ जना मात्र पुस्तु समुदायबाहिरका छन् ।