काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले सरकारले संसद्लाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । उनले चलिरहेको संसद्लाई अकस्मात लोकतन्त्र र संविधानको विरुद्ध सरकारले बन्द गराएको टिप्पणी गरे ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई श्रीमान ५ हरुको आदेशबाट बनेको सरकारको संज्ञासमेत दिए । उनले सरकारले संसद्को सबैभन्दा ठुलो दल एमालेमाथि विभाजनको नक्कली जालसाजीपूर्ण षड्यन्त्र गरेर संसद् अन्त्य गरेको पनि बताए ।
साथै, नेता अधिकारीले अबको दिनमा नेकपा (एमाले)ले सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताएका छन् । एमसीसीको विषयमा सरकारलाई नेकपा (एमाले)को आवश्यकता नरहेको पनि उनको भनाई थियो । ‘सरकारले एमसीसीको विरोध गर्नेलाई पक्रन्छु भन्छ । यसरी पक्रेर, थर्काएर, आतङ्कित पारेरै पास गर्छ भने त्यसको साक्षी एमाले बस्न पर्दैन’ उनले भने । साथै सरकारले सदन अवरुद्ध गर्ने वातावरण बनाए आफुहरु चुप लागेर नबस्ने समेत चेतावनी दिए ।