गलकोट, २३ भदौँ । नेपालमा विसं २०७६ चैत दोस्रो साता भित्रिएको कोरोना भाइरस सङ्क्रमणबाट बागलुङ पहिलो चरणमा नै प्रभावित भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दोस्रो र पाँचौँ व्यक्ति एउटै विमानमा विसं २०७६ चैत ४ गते कतार एयरवेजको विमान चढेर आएको थियो । तीमध्ये बागलुङकी १९ वर्षीया अंशु सापकोटामा सङ्क्रमण पुष्टि भएको थियो ।
राजधानी बाहिर सङ्क्रमण पुष्टि हुनेमा अंशु दोस्रो भएका कारण बागलुङ शुरुमै सशङ्कित बन्यो । त्यति मात्रै हैन, अंशुको गाउँका सडक स्यानिटाइजर गर्नेदेखि उपचारका लागि अस्पताल ल्याउन प्रमुख जिल्ला अधिकारीको निर्देशनसम्मका कुरा भए । सुरुको अवस्थामा यस्तोसम्म जिल्लामा घटना भयो कि कोरोना सङ्क्रमित लिन जाने भनिएको एम्बुलेन्स चालक चाभी नै फालेर भाग्नेसम्मको स्थिति आयो । त्यस कठिन अवस्थामा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले कार्यालयकै सवारी चालक रुद्र पराजुलीलाई लिएर सङ्क्रमितलाई धौलागिरि अस्पतालसम्म ल्याइ पुर्याएका थिए ।
त्यस्तो कठिन मोडबाट गुर्ज्रिदै आएको बागलुङ पछिल्लो एक वर्षदेखि विस्तारै सामान्य अवस्थातर्फ उन्मुख छ । सुरुको त्यो कोरोना सङ्कटग्रस्त अवस्था सम्झँदा आफैलाई कहाली लागेको र स्वास्थ्य सेवामा प्रश्न गर्ने अवस्था आएको कोरोना स्वास्थ्य कार्यालयका कोभिड स्थानीय स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । सुरुको अवस्थामा धौलागिरि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी घिमिरेले कोरोनाको त्यो अवस्था शब्दमा व्याख्या गरेर भन्नै नसकिने खालको भएको बताए।
“सङ्क्रमित भएको गाउँको बाटो नहिँड्ने अवस्थादेखि अहिलेको सहज परिस्थिति दुवैलाई प्रत्यक्ष नियाल्ने अवस्था आयो, २०७६ को चैत मसान्तमा चिनको वुहानबाट सुरु भएको भाइरसले युरोप जस्तो विकसित मुलुकका धेरै मानिसलाई चिहानघाट पु¥यायो”, स्वास्थ्यकर्र्मी घिमिरेले भने, “रोगलेभन्दा डरले सतायो, अभिभावकले छोराछोरी स्वास्थ्यकर्मी बनाएकामा चिन्तासमेत व्यक्त गर्नुपर्ने अवस्थामा पु¥यायो, तर अहिले स्वास्थ्य चेतना, स्वास्थ्य सामग्री तथा खोपका कारण निकै सहज बनाएको छ ।” घिमिरेका अनुसार महामारीमा अझै हेलचेक्र्याइँ भने गर्ने बेला आइसकेको छैन ।
डब्लुएचओको नीतिसमेत त्यतिबेला अनुसन्धानमै भएकाले स्वास्थ्यकर्मी थप द्विविधा र मारमा परेका थिए । सँगै हिँडेका, एउटै सवारीमा यात्रा गरेका र भेटघाट मात्रै गरेकालाई समेत परीक्षण गर्ने नीति थियो । त्यसले थप सङ्कट पैदा गराएकामा अहिले भने त्यस्तो नभएर त्यसको लक्षण छ, उसैलाई मात्र परीक्षण गर्दा स्वास्थ्यकर्मीलाई सहज भएको छ । उनले भने, “स्वास्थ्यकर्मी भएकै कारण मात्रै नहोला तर कोरोना सार्छ भन्ने डरले मानिस स्वास्थ्यकर्मीबाट टाढा रहन चाहन्थे । म सङ्क्रमित भएर घरमै बस्दा घरको बाटो नै मान्छे हिँडेनन् ।”
“कोरोनाका सङ्क्रमितको मोफसलमैै उपचार सम्भव तुल्याउने अस्पतालका अर्का साहसिक र जोखिम मोल्नुभएका चिकित्सक हुनुहुन्छ”, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेल । राजधानी बाहिर सङ्क्रमित भएको अंशुलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजानेसमेत तयारी भइरहेको अवस्थामा यही अस्पतालमै उपचार गर्न सकिन्छ भनेर आँट गरेको र विस्तारै सार्थकता पाएको डा पोखरेलले बताए ।
“निकै जोखिमपूर्ण र अन्योलग्रस्त अवस्था थियो, जतिबेला पाँचौँ सङ्क्रमित बागलुङमा पुष्टि भइसकेको अवस्था थियो, सङ्क्रमितको उपचार गण्डकी प्रदेशमै कही भएको थिएन, नयाँ रोग नयाँ प्रयास थियो”, डा पोखरेलले भने, “तर मैले तत्कालीन समयमा कार्यरत डा प्रदीप श्रेष्ठ लगायतको समूहसँग छलफल गरी यही राख्ने कुरा ग¥र्यौं, अहिले त अस्पतालको आइसोलेसन खाली हुने, होम आइसोलेसनमै बस्ने सहज परिस्थिति आयो, त्यतिबेला धौलागिरि अस्पतालले बास्तवमा जोखिम उठाएकै हो ।” अहिले स्वास्थ्यसम्बन्धी सचेतना अपनाउन थालियो, मास्क अनिवार्य भयो, स्यानिटाइजरको प्रयोग बढ्यो र खोपलाई अनिवार्य गरिँदै लगियो, त्यसैले सहज परिस्थिति आएको उनको भनाइ छ ।
सरकारले कोरोना सङ्क्रमितलाई कहाँ भर्ना गर्ने सरकारको निर्देशनसमेत नआउँदै अस्पतालले कोरोनाको उपचार शुरु गरिसकेको डा पोखरेलले बताए । प्लाष्टिकका पीपीइ लगाएर उपचारमा खटिएका स्वास्थ्यकर्मीले त्यतिबेला ठूलो जोखिम मोलेको स्मरण गर्छन् । पीपीइ लगाउने तरिका समेत बिरामी भर्ना भइसकेपछि यहाँका स्वास्थ्यकर्मीले सिकेका हुन् ।
कोरोनालाई सुरुकै अवस्थादेखि नजिकबाट नियाल्नुभएका बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले त्यसबेलाको अवस्था र अहिलेको अवस्था धेरै फरक रहेको बताए। पाँचौँ सङ्क्रमित अशुका गाउँ कुडुलेमा उत्पादन भएको तरकारी र छटौँ सङ्क्रमित कनकुमारी पौडेल भएको गौडाकोटको दूधसमेत बिक्री नभएको अवस्थामा रहेको बागलुङ अहिले सामान्य अवस्थामा फर्किसकेको छ । रासस