Logo

समुद्रपार व्यापारः एक सातामै दोब्बर पुग्यो ढुवानी लागत



वीरगञ्ज, भदौ २४। समुद्रपार व्यापारमा सिपिङ कम्पनीहरूले कन्टेनर ढुवानीको भाडा ह्वात्तै बढाएका छन् । कोरोना महामारी शुरू भएयता बढ्न थालेको ढुवानी लागत अहिले उत्कर्षमा पुगेको व्यवसायीहरूले बताएका छन् ।

सेप्टेम्बरको पहिलो सातामै कन्टेनरको भाडा दोब्बर पुगेको आयातकर्ताले बताए । अगस्त अन्तिमसम्म चिनियाँ बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको प्रतिकन्टेनर भाडा ३५ सयदेखि ४ हजार अमेरिकी डलर (डलर) रहेकोमा अहिले ८ हजार डलर तिर्दा पनि कन्टेनर पाउन नसकिएको आयातकर्ता आशिष लाठले बताए ।

विश्वव्यापी रूपमै कन्टेनरको माग र आपूर्तिमा देखिएको असन्तुलनले भाडा बढेको बुझाइ व्यवसायीको छ । यूरोपेली र अमेरिकी देशमा सेप्टेम्बरको शुरुआतदेखि नै मालसामानको माग बढेकाले कन्टेनरको अभाव देखिएको हो ।

यही मौका छोपेर सिपिङ कम्पनीहरूले भाडा बढाएको वीरगञ्ज उद्योेग वाणिज्य संघका सचिवसमेत रहेका लाठ बताउँछन् । व्यवसायीका अनुसार कोरोना महामारीबीच अघिल्लो वर्षको मार्चदेखि नै सिपिङ कम्पनीले भाडा बढाउन थालेका हुन् ।

यसअघि ५ हजार डलरसम्म पुगेको भाडा गत महीना ४ हजारसम्म झरेको थियो । अहिले चिनियाँ बन्दरगाहमा ८ हजार डलर तिर्दा पनि आयातकर्ताले कन्टेनर पाएका छैनन् ।

‘एक वर्षअघिसम्म चिनियाँ बन्दरगाहदेखि वीरगञ्जसम्म २० टनको कन्टेनर १५ सयदेखि २ हजार डलरसम्ममा ढुवानी भइरहेको थियो । गत महीनासम्म पनि ४ हजार डलरसम्म रहेको भाडा यो महीना लाग्नासाथै बढ्न थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्