काठमाडौं, २४ भाद्र । आज विहान सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्यो । तर, त्यो बैठकमा नेपाली काँग्रेसका कोही थिएनन् ।
सिटी स्केप अपार्टमेन्टमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए । उनीहरुले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे समेत कुराकानी गरेको बुझिएको छ ।
एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा अगाडि बढेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल चलाएका छन् । एमसीसीको विषयले देउवा र ओलीबीच संवादको वातावरण विकास भएको छ । यसले एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षका प्रचण्ड र माधव नेपाललाई झस्काएको छ ।
आज सत्ता गठबन्धनको बैठकमा काँग्रेसविना नै शिर्ष नेताहरु छलफलमा जुटे । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार आजै काठमाडौं आएर राजनीतिक भेटवार्तामा व्यस्त छिन् । गठबन्धनका एमसीसीसँग असहमत नेताहरुले भने फरक रणनीति तय गरेका छन् । उनीहरु देउवालाई नराखी आफूहरु छुट्टै बसेर राजनीतिलाई तरंगित पारेका छन् ।