काठमाडौं, २५ भदौ । महालक्ष्मी विकास बैंकले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारणलाई विद्युत् महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले प्रधिकरणसँग विद्युत् महसुल संकलन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहक वा सर्वसाधारणले आफूले खपत गरेको विजुलीको महशुल बैंकको मोवाइल बैंकिङमार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भइ भुक्तानी गर्न सक्नेछन् ।
सम्झौताअनुसार सेवाग्राहीले मासिक पाँच सय रुपैयाँसम्मको विद्युत् महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने पाँच लाख रुपैयाँसम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँ मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।