काठमाडौं, २६ भाद्र । संखुवासभाको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्याका आरोपी लोकहादुर काकीले पीडितमध्ये एकमाथि हत्याको आशंका एक वर्ष अघि देखि गरेको खुलेको छ । प्रहरीसँगको बयानमा लोकबहादुरले काका पर्ने तेजबहादुरले एक वर्ष अघि आफ्नी आमाको हत्या गरेको आशंका बयानमार्फत् गरेका छन् ।
प्रहरी स्रोतका अनुसार एक वर्ष अघि लडेर लोकबहादुर कार्कीकी आमाको मृत्यु भएको थियो । उपचारका लागि झापा लगिएकी उनको अस्पतालमै निधन भएको थियो । त्यो घटनाले तेजबहादुरको मनमा गहिरो चोट परेको थियो । उनी मानसिक रुपमा विक्षिप्त भई औषधी पनि सेवन गर्न थालेका थिए ।
आमा तेजबहादुरको घरमा लड्नुले उनले षड्यन्त्रको आशंका गरेका थिए । त्यसपछि उनमा बदलाको भावना विकास भएको बयानबाट खुलेको छ ।
तेजबहादुरले बोल्दा हेपेको ठानेर लोकबहादुर भित्र भित्र रिसाइरहेका थिए । उनले २१ भाद्रको विहानै मौका छोपेर हत्या गरे । हत्या गरेको तेजबहादुरकी पत्नी कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेका थिए । उनीहरु घटनास्थलमा आएपछि आक्रमण गरेका थिए । लखेटेर ह्यामरले हानेको खुलेको छ ।
हत्याको दृश्य ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीले पनि देखेपछि उनीहरुको पनि हत्या गरेका थिए । हत्या गर्न खोज्दा विपिन र गोमा भागेका थिए । उनीहरुको लखेटेर हत्या गरेको बयान लोकबहादुरले दिएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि घरमा बसेकी ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या गरेका थिए । बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहानपाएकाले छाडिदिएका थिए ।
आशंकाकै भरमा बदला लिने नाममा लोकबहादुरले तेजबहादुरको सुन्दर परिवार नै नाश गरिदिए । वृद्ध बाबुलाई मात्र छाडेर सबैको हत्या गरे ।