तनहुँ, २८ भदौ । नेपाल विद्यार्थी संघका नेता सुवास अधिकारी बन्दिपुर गाउँ कार्य समितिको पार्टी सचिव पदका लागि मैदानमा उत्रिएका छन् । बन्दिपुर वडा–४ मा भारी मतले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका अधिकारी बिगत १० बर्षदेखि त्रिचन्द्र कलेजबाट ने.वि संघको राजनीति गर्दै आएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तरगत तनहुँमा वडा अधिबेशन सम्पन्न भैसकेको छ । त्रिचन्द्र कलेजबाट ने.वि संघको राजनीति गर्दै आएका अधिकारी पटक–पटक स्ववियुमा सचिव देखि सभापति सम्मको प्रवल दाबेदारको रुपमा चिनिन्छन् ।
अधिकारीले बिगत १५ बर्ष सम्मपनि स्ववियुको चुनाव हुन नसक्दा विद्यार्थी राजनीतिबाट स्थापित हुनबाट बन्चित हुन परेको र अब पार्टीको राजनितीमा केन्द्रीत हुने भन्दै तनँहु, वन्दिपुर गाउँ कार्य समितिको पार्टी सचिव पदका लागि मैदानमा उत्रिएको बताए ।
अग्रज व्यक्तित्वलाई सम्मान, असक्षम र असफल नेतृत्वलाई विश्राम र आधुनिक एवं सर्वश्रेष्ठ नेपाली कांग्रेस निर्माणको महाअभियानमा सवैलाई सहयोग गर्न आहवान गर्दै आफू मैदानमा उत्रिएको नेता अधिकारीले जिकिर गरे ।
स्थानीय तहमा अग्रज नेताहरुमाथि अराजनीतिक व्यक्तिहरुले गरेको अपमान र नेता कार्यकर्ताले पनि योगदानको मुल्यांकन गर्न नसकेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले नेपाली काङ्ग्रेसले विपीको लोकतान्त्रिक समाजवादलाई तिलाञ्जली दिदै गएको आरोप लगाए ।