एजेन्सी, ३० भदौ । उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ ।
यो साता उत्तर कोरियाले दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । अहिले प्रहार गरिएका क्षेप्यास्त्रको लक्ष्य के हो र उडान दूरी कति छ भन्नेबारे भने खुलेको छैन् ।
यो क्षेप्यास्त्र प्रहार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्कल्प प्रस्तावविरुद्ध रहेको बताइएको छ । गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो । प्योङ्याङले उक्त क्षेप्यास्त्रलाई ठूलो महत्वको रणनीतिक अस्त्र भनेको छ ।
राष्ट्रसंघले बलिस्टिक क्षेप्यास्त्रलाई बढी खतरनाक मानेको छ । उत्तर कोरियाले अहिले खाद्यान्नको अभाव तथा चरम आर्थिक सङ्कट खेपिरहेको छ । त्यहाँका जनताहरु भोकमरीको चपेटामा परेको समाचारहरु आइरहेका छन् । तर उत्तर कोरियाले अस्त्र निर्माण गर्न पैसा कसरी जुटाइरहेको छ भनेर प्रश्न उठ्ने गरेको छ ।
कोभिड–१९ फैलिएदेखि उत्तर कोरियाले चीनसँगको सीमानाका पनि बन्द गरेको थियो । गत महिना राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा निकाय (आईएईए) ले उत्तर कोरियाले एउटा परमाणु रीयाक्टर पुनः सञ्चालनमा ल्याएको जस्तो देखिएको बताउँदै चिन्ता व्यक्त गरेको थियो । गत जनअरीमा उत्तर कोरियाली नेता किम जोङ उन ले देशको पारमाणविक क्षमतामा आधुनिकीकरण गर्न चाहेको बताएका थिए ।