काठमाडौं, ३० भाद्र । नेपाली काँग्रेसकी सांसद रङ्गमती शाहीले चीनले नेपालको भूमी मिचेको ठोकुवा गरेकी छिन् । उनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताइन् ।
‘भूमी मिचेको हो,’ प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा हुम्लाकी सांसद शाहीले भनिन्, ‘पुरानो पिलर नै गायब पारिएको छ ।’
१२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखिएको बताइन् । उनले सोधिन्, ‘भूमि मिच्यो भन्ने कि नभन्ने ?’
चीनले हुम्लामा सहयोगहरु गरेको उल्लेख गर्दै आफू देशको भूमि मिच्ने सवालमा बोलिरहने बताइन् । चीनसँग रोटीबेटीको सम्बन्ध रहेको बताउँदै सीमाको सवालमा आवाज उठिरहने बताइन् ।
सरकारले आफूहरुको बारम्बारको मागपछि सीमा समस्या अध्ययन कमिटी गठन गरेको र त्यसको प्रतिवेदन कुर्न आग्रह गरिन् ।
आफू कसैबाट प्रभावित भएर नबोलेको बताउँदै भनिन्, ‘प्रमाणित गरेर देखाउन् राजीनामा दिएर सन्यास लिन तयार छु ।’