वीरगन्ज, असोज १ । सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ । वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् ।
कोरोनाको हाउगुजी देखाएर सरकारले सीमानाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने मुख्य गरी भारतीय पर्यटकको आवागमन ठप्प भएपछि आफूहरु पेसाबाट नै पलाउन हुनुपर्ने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।
उनले वीरगन्ज सीमानाकाबाट दैनिक सयौं व्यक्तिको ओहोरदोहोर भए पनि सरकारले औपचारिक रूपबाट नाका सञ्चालनमा नल्याइदिँदा पर्यटन क्षेत्र नराम्रोसँग मारमा परेको बताए । सरकारले कोरोना संक्रमण बढेको भन्दै २०७६ चैत ११ गते रातिबाट नै वीरगन्ज नाका बन्द गरेको थियो ।
सो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि खुल्न नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट