काठमाडौं, ३ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालका राजनीतिक दल र यसका शीर्ष नेताहरुले संविधानमाथि घात गरेको आरोप लगाएका छन् । उनले संविधानलाई लिएर अथरसिप र अनरसिपको समस्या आएको पनि टिप्पणी गरेका छन् ।
आज सातौं संविधान दिवसको अवसरमा प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. आचार्यले नेपालमा विकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य भएको आरोप लगाए । हिजोआज लेखिने संविधानका अन्तरवस्तु लगभग उस्तै हुने उनको भनाई छ ।
उनले संविधान जारी भएपछि त्यसको ईमानदारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अघि बढिरहेको भए नेपालको संविधानको धेरै छिटो अन्त्य आफूले देखेको पनि स्मरण गराए । उनले भने, मुलुक एकखालको मुठभेडमा जाँदै थियो, नेपाली सेना पनि विवादमा आउने खतरा मैले देखिरहेको थिएँ । त्यो मुठभेडले अन्यत्र लैजाने सम्भावना देखिन्थ्यो ।