काठमाडौं, ४ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टी थोरै मेहनत गर्दा पहिलो बन्ने दाबी गरेका छन् । उनले जनतामा आफूहरुको जबरजस्त प्रभाव रहेको पनि दाबी गरे । सूर्यनाथ राम यादवमा क्रान्तिकारी व्यक्तित्व रहेको स्मरण गराएका छन् । यादवको षड्यन्त्रपूर्वक हत्या गरिएको उनको भनाई छ ।
आज (सोमबार) सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले अहिले पार्टी पूनर्निर्माणमा जाने संकल्प गरेको सुनाए । उनले आफ्नो पार्टी विस्तारै विस्तारै एमालेकरण भएको पनि बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको झुटो बोल्ने व्यक्ति नेपालमा अरु कोही नभएको पनि दाबी गरेका छन् ।
उनले केपी ओलीको परिचय नै धोकेबाज भएको भएपनि अरुलाई नै धोकेबाज भनेर सजिलै भन्ने गरेको पनि टिप्पणी गरे । उनले माधव नेपाल र झलनाथ खनालजस्तो बरिष्ठ नेताहरु ठीकै ट्रयाकमा रहेको पनि सुनाए । उनले केपी ओलीलाई भ्रष्ट नेताको रुपमा चित्रण गरे ।
उनले योगेश भट्टराई, घनश्याम भुषालहरुले नै हिजो ओलीविरुद्ध कडा टिप्पणी गरेको भएपनि अहिले ती दश नेताले ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाए । उनले आफूहरु माओवादी भएपनि व्यवहारमा त्यस्तो नदेखिएको गुनासो पोखे । उनले आफूहरु पनि एमाले भईएला भनेर चिन्तासहित समिक्षा गरिएको सुनाए ।
https://www.facebook.com/prachanda.nepal/videos/300472071883694