काठमाडौँ, १० असोज: संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार नै ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरेका थिए । भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापनाकार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरे । मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरे ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा शनिबार साँझ रात्रिभोजको आयोजना गरेको उक्त नियोगले जनाएको छ ।-Photo: Agency