काठमाडौं, ११ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । यसको लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुसँग मन्त्रीको नामसमेत मागिसकेका छन् ।
अहिले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मन्त्रीको नाम छनौट गर्न आन्तरिक छलफलमा जुटेको छ । उता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा क–कसलाई पठाउने भनेर नाम तय गरिसकेको जनाईएको छ ।
कांग्रेस नेता रमेश लेखकले पनि ढिलोमा भोलि बेलुकासम्म सरकारलाई पूर्णता दिनेगरि तयारी भएको जनाए । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले आज÷भोलिसम्म सरकारलाई पूर्णता दिन्छु भन्नुभएको छ ।’ उनकाअनुसार प्रधानमन्त्री देउवाले सरकार विस्तारमा ढिलाई भएकै कारण सरकार असफल भयो भनेर टिप्पणी गर्दा दुःखेसो पोखेका छन् ।
देउवाको भनाई उद्धृत गर्दै उनले भने,‘सरकार गठन भएको तीन महिनापनि भएको छैन, अनि कसरी सरकार असफल भयो भन्न मिल्छ ? म काम गरिरहेको छु । सरकारको हनिमुन पिरियडमै असफल भन्नु त न्यायोचित होईन नि, सय दिन पनि पूरा नहुँदै कसरी असक्षम भन्न मिल्छ ?’ लेखकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुने पनि जनाए ।
प्रधानमन्त्री देउवाले आफ्नै नेतृत्वको सरकारले चुनाव गराउने र मुलुकलाई निकास दिनेपनि विश्वास दिलाएको लेखकको भनाई छ । त्यस्तै, आगामी चैत्रसम्म सबै नेपालीलाई कोरोनाको खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता छ । file photo/ReportersNepal