Logo

विश्व मुटु दिवसः गाउँ पस्यो मुटुरोग



चितवन, १३ असोज । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउछन् । उनले भने, “चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ ।” सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहेको रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनी बताउछन् । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनी बताउछन् ।

“पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ”, उनले भने, “युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।” ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उनी बताउछन् ।

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउछन् । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ । उनले भने, “कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ”, उनले भने, “रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।” रिसाहा व्यक्तिलाई धेरै समस्या अउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।” चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउनुहुन्छ । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् । रासस



प्रतिक्रिया दिनुहोस्