Logo

चिडियाखानाका जनावरप्रति नागरिकको रुचि



काठमाडौं, असोज १४ । सदर चिडियाखाना जावलाखेलमा रहेका जनावरको अभिभावकत्व ग्रहण गर्न सर्वसाधारणमा रुचि देखिएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री प्रेम आलेले एउटा हात्तीको आहारका लागि एक लाख रुपियाँ उपलब्ध गराएर यस कार्यको सुरुवात गरेका थिए ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैँडाको अभिभावकत्व ग्रहण गरेका थिए। त्यसयता देश–विदेश गरी ६० जनाभन्दा व्यक्तिले चिडियाखानामा पालिएका जनावरको आहार तथा पालनपोषणका लागि सहयोग उपलब्ध गराइसकेका छन् ।

सदर चिडियाखानाका प्रमुख डा चिरञ्जीवी पोखरेलका अनुसार कोरोनाका कारणले चिडियाखाना हेर्न आउनेको सङ्ख्या घटेसँगै आम्दानी घटेकाले जनावरको पालनपोषणमा समस्या सिर्जना भएको छ । डा पोखरेलका अनुसार केही समयअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि चिडियाखानामा रहेका दुई बाघको अभिभावकत्व ग्रहण गरेका छन् ।

राणाले बाघ प्रताप र बघिनी जगतीलाई आधा आधा रकम गरी कुल एक लाख रुपियाँ प्रदान गरेका छन् । त्यसैगरी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले एक हात्तीको आहारका लागि वर्षभरिको खर्च १५ लाख रुपियाँ उपलब्ध गराएको छ । समाजसेवी समीरमणि दीक्षितले १९ जनावरको अभिभावकत्व ग्रहण गरेका छन् ।

अभिभावकत्व ग्रहण गर्नेले एक वर्षका लागि उक्त जनावरलाई खानपान र स्वास्थ्य संरक्षण दिनुपर्ने व्यवस्था चिडियाखानाले गरेको छ ।चिडियाघरमा जलचर, उभयचर, सरिसृपसहितका हिंस्रक जनावर संरक्षणमा रहेका छन् ।
हाल संस्थागत वार्षिक १५ लाख रुपियाँ, साधारण साढे दुई लाख र सर्वसाधारणका लागि न्यूनतम वार्षिक ७५ हजार रुपियाँसम्मको खर्च गर्न सकिने गरी जनावरको अभिभावकत्व ग्रहण लिन÷दिन सकिने व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्