Logo

एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप



काठमाडौँ, १४ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा एमालेबाहेक सबै दल उपस्थित रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

उनले भने,‘प्रधानमन्त्रीले अर्को बैठकमा पुन : एमाले अध्यक्ष केपी ओलीलाई छलफलमा सहभागी हुन निमन्त्रणा गरिने जानकारी गराउनु भयो। बैठकमा समसामयिक विषयमा पनि छलफल भएको छ।’ बैठकमा सहभागी दलहरुले एमाले वार्ता र संवादबाट भाग्न खोजेको बताएका छन्। बैठकमा संसद् अवरुद्ध नगर्न एमालेलाई नेताहरुले आग्रह गरेका छन्।

सत्ता गठबन्धनको दलले संसद सञ्चालनमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार बन्नसमेत आग्रह गरेको छ। ‘संघीय संसदलाई निर्वाध र मर्यादित हिसाबले अघि बढाउन प्रमुख प्रतिपक्षी दल तथा यसका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गरोस् भन्ने बैठकले अपेक्षा गरेको छ,’ कार्कीले भने, ‘३३ वटा विधेयक प्रतिनिधि सभामा छन्। राष्ट्रिय सभामा २७ विधेयक छन्। जुन जनतासँग प्रत्यक्ष सरोकार राख्छन्। त्यसैल एमाले अर्को बैठकमा उपस्थित हुनुहुनेछ भन्ने हामीले आशा गरेका छौं।’

एमाले विभाजन गर्न मध्यराति संसद् स्थगित गरेर सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोले सरकारको पनि एमालेले विरोध गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्