काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा गोदावरीस्थित सम्मेलन केन्द्रको मञ्चको डिजाइन ठ्याक्कै चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीमा आयोजित सम्मेलनको मञ्चसँग मिल्दोजुल्दो छ । मञ्चको पृष्ठभूमीमा रातो कपडा देखिन्छ । त्यसको सजावट ठ्याक्कै चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनको दौरान मञ्चमा भएको जस्तै छ ।
पृष्ठभूमीमा रातो कपडाको बीच भागमा सुर्य चिन्ह भित्र हसियाँ हथौडा देखिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनका दौरान बीच भागमा त्यसै गरी हसियाँ हथौडा राखिएको थियो । मञ्चमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी चिनफिङसहित वरिष्ठ नेताहरु बसेका थिए । त्यसरी नेकपा एमालेको सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरु बसे ।
चिनियाँ राष्ट्रपति समेत रहेका कम्युनिस्ट पार्टीका नेता सीले शक्ति विस्तार गर्दै लगेर पार्टीको विधान नै परिवर्तन गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा उनी माओत्से तुङ पछिका शक्तिशाली बने । कम्युनिस्ट पार्टीमा दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने विधानमै थियो । सीले त्यसलाई परिवर्तन गरेर आफूलाई आजीवन नेता बन्न सक्ने व्यवस्था गरे ।
ठिक त्यसै गरी ओलीले विधान परिवर्तन गराउँदैछन् । उनले ७० वर्षे उमेरहदमा परिवर्तन गर्न लागेका छन् । ओली आजीवन नेकपा एमालेको अध्यक्ष बन्न पाउने गरी व्यवस्था गर्दैछन् ।
सीले जसरी माओ पछिका नेताहरुलाई ओझेलमा पार्ने गरी पार्टीलाई आफू केन्द्रित बनाए ओलीले त्यही शैली अपनाएका छन् । कम्युनिस्ट पार्टीमा विगतमा सिद्धान्त प्रतिपादन गर्ने अन्तर्राष्ट्रिय नेता र दिवंगत नेताको तस्बिर राखिन्थ्यो । ओलीले आफ्नो तस्बिरलाई जताततै राख्न लगाएका छन् । सडक देखि कार्यक्रमस्थलमा पनि उनको ठूलो तस्बिर राखिएको छ ।
सीले माओपछि चिनियाँ कम्युनिस्ट पार्टीमा आफ्नो विचारधारा नै मुख्य हो भन्ने बनाए । ओलीले पनि मदन भण्डारी पछि नेकपा एमालेमा आफ्नै विचार मुख्य हो जस्तो गरी प्रस्तुती गरे । यतिसम्मकी पुष्पलाल श्रेष्ठ हुँदै स्थापित कम्युनिस्ट पार्टी नेकपा सम्म पुगेर फेरि विभाजनपछि बनेको नेकपा एमाले पनि नेकपाकै विरासत भएको उल्लेख गरे ।
ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दा चीनको निकै प्रशंशा गरे । उनले भारतबाट नेपाललाई खतरा रहेको जसरी प्रस्तुत गरिरहँदा चीनले समाजवादतर्फको यात्रामा ठूलो सफलता हासिल गरेकोमा बधाई दिए ।