Logo

महान् लेफ्टविंगर रुपालशमशेर जबरा



रमेश गोर्खाली : संवत् २०५० को साउनदेखि २०५८ को यौटा समयावधि म मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरको मकवानपुर बहुमुखी क्याम्पस (एमएमसी) मा राजनीतिशास्त्र विषयको उपप्राध्यापक थिएँ । त्यही ताका नेपाल जनपद प्रहरीको विकेन्द्रित अवस्थाको मध्यमाञ्चलका डीआईजी भएर रुपालशमशेर जबराको हेटौंडामा आगमन भयो । संवत् २०५५–५६ मा काठमाडौंबाट  मध्यमाञ्चलको प्रहरी कार्यालय प्रथमपल्ट हेटौंडामा स्थानान्तरित गरिएको समय थियो त्यसताका ।

आफ्नो समयको वीरगंजको प्रथम डिपार्टमेन्टल स्टोर सुन्दर स्टोर्स, व्यापारिक प्रतिष्ठान परिवारको सदस्य भएकाले म उहाँसित सुपरिचित थिएँ । विशेषतः दोस्रो दशकको मध्यावस्थादेखि नेपाली फुटबल विधाका स्टार फुटबलरका रुपमा रुपालशमशेरको परिचय मिल्ने गर्दथ्यो ।

प्रायः गरी फुटबल र खेलसम्बन्धी अन्यानेक सामग्री संबद्ध खेलाडी, खेलप्रेमी र आयोजकले हाम्रै व्यापारिक प्रतिष्ठानबाट खरिद गर्दथे । यसरी  क्रमशः विद्यार्थीकालमा सानै उमेरदेखि म रुपालको परिचित र प्रशंसक बनें । मध्यमाञ्चलको प्रहरी प्रमुखका रूपमा रुपाल दाजुको हेटौंडा बसाइले अग्रज स्रष्टा एवं प्रसिद्ध अस्तित्ववादी कवि भीम विराग र मलाई अम्लान एवं अव्यक्त खुशी लागेको थियो । मध्यमाञ्चलको प्रहरी प्रमुखका रूपमा उहाँको हेटौंडा स्थानान्तरणले वीरगंजका कतिपय सुपरिचित र खेलपे्रमी अनायास हर्षित भएका थिए । मकवानपुरको हेटौंडा र पर्साको वीरगंज एकप्रकारले दाजुभाइ  समान परस्परमा अन्याश्रित नगरीय परिवेश हुन् ।

डीआईजी कार्यालय पुगेर आएका कतिपय सुपरिचित साथीभाइले  त्यसताका भन्ने गर्दथे— ‘पारस्परिक भेटघाटमा रुपालदाइले अत्यधिक खुशी  मान्नुभयो, भर्खरै चिया र खाजा खाएर फर्किंदै छु । पर्सावासी, परिचित र  विशेषतः वीरगंजियासित उहाँको व्यवहार अत्यन्त मृदुल रहने गरेको छ ।’

क्याम्पसीय प्राध्यापनको समयपश्चात् रुपाल दाजुसित मैले समय समयमा थुप्रै पटक भेट गरें । त्यसबेला आफ्नो समयका एकजना प्रखर अस्तित्ववादी धाराका कवि भीम विराग (स्वर्गवासी भीमदाइ) प्रायः गरी  प्रत्येकपल्ट सँगै हुने गर्दथे । काठमाडौंको इन्द्रचोकस्थित मेरो मावली परिवार विविध क्रीडा विधा र खेलशास्त्र (गेम साइन्स) का अत्यधिक प्रेमी रहेका हुन् । मावलीका हजुरबुवा रामेश्वरलाल प्रधान राणाकालमा प्रहरी  सेवामा अधिकृत तहका कर्मचारी हुनुहुन्थ्यो । संवत् १९९४ मा महावीर स्कुल स्थापनामा संलग्न भएको आरोपमा जुद्ध शमशेर जबराको प्रधानमन्त्रित्वको  समयमा यिनी जागिर मुक्त भएका थिए । संवत् २००७ मा प्रजातन्त्रको प्राप्तिपश्चात् पुनः यिनी कर्मचारी जीवनमा पुनर्स्थापित भएका हुन् ।

मेरा  जेठा मामा जानकीप्रसाद प्रधान (कृषि वैज्ञानिक एवं पूर्व महानिर्देशक), माहिलो मामा राजेशकुमार प्रधान (फुटबल खेलाडी तथा यातायात उद्यमी), साहिँलो मामा भुवनेशकुमार प्रधान (नेपाल सरकारको पूर्वसचिव) र कान्छो मामा नृपेशकुमार प्रधान (एमएस्सी, फिजिक्स) खेलपरक क्यालेण्डर, खेलग्राम र खेल परिणामबारे मलाई समय-समयमा जानकारी दिई रहनुहुन्थ्यो ।  यस्तो परिवृत्तान्त र खेलपरक अभिज्ञानले ममा विद्यार्थीकालदेखि थुप्रै कुराको  जानकारी पलाएको यथार्थ हो ।

हेटौंडामा पारस्परिक अन्तरक्रियाको समयमा हाम्रो कुराकानीको प्रमुख केन्द्रविन्दु राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलसम्बन्धी विविध विषयहुने गर्दथ्यो । रोगाहत श्रद्धेय कवि भीम विरागले एकपटक खेल परिचर्चाको क्रममा विगतमा आफू विशिष्ट सेन्टर फरवार्ड रहेको तथ्य सुनाएर समुपस्थित सबैलाई विस्मित तुल्याएका थिए । कतिपय क्रीडाविज्ञले वीरगंजको तेश्रो र चौथो दशकको समयावधि फुटबल खेलका दृष्टिले स्वर्णिम काल (गोल्डेन पिरियड)  रहेको मान्ने गर्छन् ।

वीरगंजमा समय समयमा ब्रह्मानन्द शर्मा (बिर्मा), उत्तरबहादुर श्रेष्ठ,  प्रचण्डमान, अंजनीकुमार, जयविक्रमशाह, हेमन्त राणा, लोकविक्रम शाह (कंचन), शम्भुशमशेर जबरा, मार्कण्डेय शाह, वीरेन्द्र शाह, लक्ष्मण श्रेष्ठ  (लच्छु), जगदीश गुप्ता र हरि श्रेष्ठ प्रभृति विशिष्ट फुटबल खेलाडी दृष्टिगत भएका छन् । यसैप्रकार अमर क्षेत्री, शंकरशमशेर जबरा (नेपालदाजु), दिलीपमान सिंह राजभण्डारी, ममजान, इस्लाम शेख, अमिन, रंजित बनर्जी,  ताराशमशेर जबरा, कोहिनुरशमशेर जबरा, दिलकृष्ण ताम्राकार, शिवशंकर रौनियार, चिरायु राजभण्डारी, साहेब जान, ईश्वरचन्द्र गौतम, काजीलाल नेपाली, सीताराम केडिया, मोहरम, लक्ष्मण थापा, श्रीलाल नेपाली, सूर्यलाल नेपाली, सुमनसमशेर जबरा, भोला श्रीवास्तव, ऋतु शाक्य, वृजबिहारी चौधरी, शम्भु थापा, शिवविक्रम शाह, उत्तम श्रेष्ठ, महेश गोर्खाली, वसन्त लामा, विशाल गौतम, छठु चौधरी, देवेन्द्र फौजदार एवं रामकृष्ण शाही,  धीरेन्द्र खड्का, महेश चौधरी, गोपालजीप्रसाद, बलरामजीप्रसाद, लक्ष्मणजी  प्रसाद, रामाप्रसाद गुप्ता, लक्ष्मी न्यौपाने, हंस राणा, रामचन्द्र गुप्ता, विन्दुगोपाल गोर्खाली, मीनबहादुर, अनिल रुपाखेती, बाबाजान, नवजान, दिवाकरकृष्ण  मानन्धर, गजेन्द्रराज भण्डारी, गोपाल मानन्धर, सुरेश गोर्खाली, अमरराज भण्डारी, रमेश डंगोल, मृगेन्द्र श्रेष्ठ (मुन्ना), रामकृष्ण चौधरी, बद्री गुप्ता, शंकर जटिया, रमेश डंगोल, गौतमध्वज जोशी र मधुसुदन उपाध्याय जस्ता उत्तम खेलाडीले राष्ट्रिय खेल नक्शामा आफूलाई प्रस्तुत गरेको इतिहास भेटिन्छ । यसबीचमा कतिपयले फुटबल खेलको माध्यमले नेपाली खेल क्षेत्रलाई विविधार्थी दृष्टिले आलोकित तुल्याएको पाइन्छ । तिनै बीचका रुपालशमशेर एकजना झण्डै अद्भुत र अद्वितीय खेल प्रतिभा (एन युनिक फुटबल प्लेयर) हुन् ।

नेपाली प्राज्ञिक जगतका गुरु व्यक्तित्व एवं प्राचार्य डा. मोहनप्रसाद लाखेले खेल प्रसंगको चर्चा चल्दा एकपटक जीवनकालमा भन्नुभएको थियो—  ‘रुपालको जन्म नै फुटबल खेल्न भएको हो जस्तो लाग्ने गर्दछ ।’ स्रष्टा धनुष गोतामेको नाउँझैं यिनको जस्तो दोस्रो नाउँ मैले सुन्न पाएको छैन । त्यस  समयमा रामनगर, बेतिया, मोतीहारी, दरभंगा, नरकटियागंज, मुजफ्फरपुर,  समस्तीपुर, छपरा, पटना, राँची, गोरखपुर र देहरादून जस्ता भारतको बिहार, झारखण्ड, उत्तर प्रदेश र उत्तराखण्ड प्रान्तका बलिया टिमहरूसित वीरगंजको टिमले द्वि–पक्षीय (बाइलेटरल गेम) खेल खेल्ने गर्दथ्यो । त्यसताका  वीरगंजमा आयोजना हुने माधव बान्धव स्मृति फुटबल प्रतियोगिता, महेन्द्र  गोल्ड कप र अन्य कतिपय प्रतिस्पर्धामा वीरगंजको टोलीले उत्कृष्ट खेलेर  विजयश्री प्राप्त गर्दथ्यो ।

गोल मेसिनतुल्य रहेका रुपालशमशेर जबरा, लक्ष्मण श्रेष्ठ (लच्छु), जगदीश गुप्ता, हरि श्रेष्ठ र लक्ष्मण थापा अत्यधिक चर्चित थिए नगरीय खेलवृत्तमा । त्यसबेला नेपालको राजधानी काठमाडौंमा सहिद स्मारक लिग र  त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिता लगायत अन्य कतिपय टुर्नामेन्ट लोकप्रिय थिए । विद्याव्यायाम, महावीर एघार, ठमेल एघार, एनआरटी,  आरसिटी, संकटा एघार, त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी क्लब (पूर्ववर्ती) महेन्द्र प्रहरी क्लब जस्ता फुटबल टोलीलाई स्तरीय टिम मानिन्थ्यो । एन्फाले  संवत् २०२४ मा आंचलिक फुटबल टोलीको गुणवत्ता र विकासका लागि राष्ट्रिय नरट्रफी फुटबल प्रतियोगिता शुभारम्भ गर्यो । संवत् २०२४ मा  कोशी अंचलको विराटनगरमा सम्पन्न प्रथम राष्टिय नरट्रफी फुटबल प्रतियोगितामा नारायणी अञ्चल पहिलो भएको इतिहास उपलब्ध छ । तिनताका राष्ट्रिय नरट्रफी फुटबल प्रतियोगितालाई उच्चदर्जाको फुटबल प्रतिस्पर्धाको सम्मान प्राप्त थियो । कालान्तरसम्म पनि यो फुटबल प्रतियोगिता आंचलिक विशिष्ट प्रतिस्पर्धाले गर्दा लोकप्रिय रहिरह्यो ।

संवत् २०४७ को बहुदलीय लोकतान्त्रिक व्यवस्थाको आगमनपूर्व अंचलीय टोलीको प्रतिनिधित्वका दृष्टिले नरट्रफी राष्ट्रिय फुटबल  प्रतियोगितालाई खेलविज्ञले सम्मानका दृष्टिले निरुपण गर्दथे । यस राष्ट्रिय फुटबल प्रतियोगितामा नारायणी अंचलले संवत २०२४, २०३१ र २०३७ गरी तीनपल्ट जितेको गौरवशाली इतिहास उपलब्ध छ । अन्तिमपल्ट नारायणी अंचलले राष्ट्रिय नरट्रफी फुटबल प्रतियोगिता (भरतपुर)लाई विजेताका रुपमा उचाल्दा उत्कृष्ट डिफेन्डर मधुसुदन उपाध्याय (वीरगंजको माईस्थानको  गहवामाईको कौडिन्यगोत्री प्याकुरेल पुजारी परिवारका सदस्य) विजयी टिमका कप्तान रहेका हुन् । विपक्षी खेलाडीलाई यिनको गोडामा रहेको बल खोस्न सदैव हम्मे हम्मे एवं कठिन रहने गर्दथ्यो । धेरथोर श्यामवर्णका फुटबलर मधुसुदन सद्भाव र स्नेहपूर्ण व्यवहारले गर्दा साथीभाइबीच अत्यधिक लोकप्रिय रहेका खेल व्यक्तित्व हुन् । अहिले वीरगंज र आफ्नो प्रदेशले राष्ट्रिय  फुटबलमा राम्रो गर्न नसक्दा सज्जन र प्रतिबद्ध मधुसुदन उपाध्याय झण्डै कहालिने गर्छन् परिचित वृत्तमा ।

एक समय नेपाल राज्यभित्र त्रिभुवन च्यालेन्ज शिल्ड फुटवल प्रतियोगिता, सहिद स्मारक लिग फुटबल प्रतिस्पर्धा (काठमाडौं), महेन्द्र गोल्ड कप फुटबल प्रतियोगिता (वीरगंज, विराटनगर एवं कालक्रमिक विराट गोल्ड कप फुटबल प्रतियोगिता), वीरेन्द्र शुभजन्मोत्सव कप फुटबल प्रतिस्पर्धा (राजधानी) आदि उच्च फुटबल प्रतियोगिता मानिन्थे । यीबीच केही प्रतिस्पर्धा समकालीन समयमा यथावत् सुचारु छन् । यसै अनुरूप तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता (बुटवल), करुवा कप फुटबल प्रतिस्पर्धा (तानसेन), बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिता (धरान) र रारा गोल्ड कप फुटबल प्रतिस्पर्धा  (पोखरा) प्रभृतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गरेको मान्नु पर्छ ।

प्रारम्भमा आफ्नो नगरीय परिवेश वीरगंजको फुटबल खेलन्ते र एथलेटिक्सका एकजना सफल स्प्रिन्टर (१०० र २०० मिटरको दौड) का रूपमा रुपालले निजात्मक व्यक्तित्वको उठान गरेको भेटिन्छ । क्रमिक रूपमा गतिशील समयसँगै क्रीडासूचक अन्य विविध पक्षलाई यिनले विस्तारण गरेका हुन् । स्टेमिना, सेन्स, स्पीड, स्केम, स्टे«टेजी र सोसाइटीलाई रुपालले नियमित रूपमा संवद्र्धन गर्न सकेको स्थिति छ ।

त्यसताका महावीर एघारमा अनुपशमशेर जबरा (कस्टोडियन),  अच्युतकृष्ण खरेल, कोमल पाण्डे (मोहन), शशी सुवेदी, शरद शाह, स्लाविन (रसियाली खेलाडी) र रुपालशमशेर आदि समष्टिचेत ढंगमा टिमका मेरुदण्ड एवं गहना बनेर रहेका देखिन्थे । प्रारम्भमा आफ्नो वीरगंजको परिवेशमा फुटबल र एथलेटिक्समा प्रशस्त ख्याति अर्जित गरेपछि यिनी काठमाडौंको सुदृढ टिम महावीर एघारमा आबद्ध भएका हुन् । कालक्रममा अच्युतकृष्ण  खरेल, अनुपशमशेर जबरा र रुपालशमशेर जबरा नेपाल प्रहरीको महेन्द्र प्रहरी क्लबमा समाहित भएका थिए । त्यसबेला नेपाल प्रहरीको महेन्द्र प्रहरी क्लबमा लोकबहादुर शाही (गोलरक्षक), रुपकराज शर्मा, अशोक केसी, मानबहादुर मल्ल, पेम दोर्जी, सुरेश पन्थी र रुपालशमशेर प्रभृति उम्दा फुटबल खेलन्तेका रूपमा अधिसंख्यकले चिने जानेका व्यक्तित्व थिए । एकताका महेन्द्र प्रहरी क्लब (समयान्तरमा नेपाल प्रहरी क्लब) नेपालमा अत्यधिक सशक्त टिम मानिन्थ्यो । यसो हुनुमा रुपालशमशेर जबरा, अच्युतकृष्ण खरेल, रुपकराज शर्मा, जीवन श्रेष्ठ, सुरेश पन्थी र अशोक केसीको अतुलनीय भूमिका कारक रहने गर्दथ्यो ।

नेपाल राज्यमा समय समयमा संचालित विभिन्न फुटबल प्रतियोगितामा रुपालले वैयक्तिक मात्र नभई समष्टिसूचक सामूहिक खेल खेलेकोले यिनको लोकप्रियतामा वृद्धि भएको हो । एकजना बेजोड र श्रेष्ठतम लेफ्ट विंगर (देब्रेकुने खेलाडी) का रूपमा यिनले कालावधिक लाखौंलाख खेलप्रेमीको हृदयमा आफ्नो खेलकौशल, गोडाको चमत्कार, रणनीति र विवेकको प्रयोगले  गर्दा दर्शकमाझ अमिट प्रभाव छाडेको देखिन्छ । विशेषतया साझा खेल  संस्कृति (कमन गेम कल्चर) भनौं वा फुटबल संस्कृति (सोसर कल्चर) मा यिनले अविस्मरणीय र अभिनन्दनीय योगदान दिएको प्रष्ट छ ।

अच्युतकृष्ण खरेल (स्रष्टा एवं प्राज्ञ यादव खरेलका भाइ), अशोक केसी, कोमल पाण्डे (मोहन), रुपकराज शर्मा, दुर्लभकुमार थापा, होराप्रसाद जोशी, बाबुराम पुन, यमबहादुर थापा, बुद्धि गुरुङ, धीरेन्द्र श्रेष्ठ (केदार), ईश्वर तुलाधर, पद्मकृष्ण श्रेष्ठ, नरकाजी गुरुङ, भीमथापा, धन बस्नेत, कृष्ण थापा, निरज पुन, विष्णु गोपाल, पुरुषोत्तम श्रेष्ठ, गोपाल श्रेष्ठ, गोविन्द कपाली, रितेश थापा, अमीर घर्ती, धीरेन्द्र प्रधान, निराजन रायमाझी, वसन्तराज गुरुङ्, हिरण्य मगर, सुरेन्द्र तामाङ, राजेश मास्के, पशुपति रौनियार, पुनम थापा, मधु कार्की, टिका थापा, सागर गुरुङ, योगम्बर सुवाल, पारस माझी, साइँला महर्जन, देवेन्द्र लामा, डम्बरविक्रम शाह, गिरिधर श्रेष्ठ, चेतनारायण श्रेष्ठ, दीप सिलवाल, नरेन्द्र गुरुङ तथा वेणु सुब्बा, आरबी राजा, उमेश प्रधान, वाईबी घले, बालगोपाल महर्जन, विदुर विष्ट, राजेश मानन्धर, राजु तुलाधर, वैजुनाथ कपाली, राधेश्याम रंजित, रामराजसिंह, विनय श्रेष्ठ, कविर  कर्माचार्य, सुरेश जोशी, विश्वमोहन श्रेष्ठ, दीपक प्रधान, कालुसिंह, कृष्ण गुरुङ, महेश्वर मुल्मी, विराटजंग शाह, निरन्जन राणा, जीवन लामा, मणि शाह, ललित थापा, रविन्द्र श्रेष्ठ, ज्ञानु शेरचन, राकेश श्रेष्ठ, सन्देश श्रेष्ठ, हरि खड्का, लक्ष्मण क्षेत्री, गणेशराज पाण्डे, विरु राई, कुमार सुब्बा, देवनारायण चौधरी र गणेश थापा जस्ता होनहार खेलाडीले नेपाली फुटबलको राष्ट्रिय प्रतिष्ठा चुल्याएको भेटिन्छ ।

संक्षेपतया ब्रह्मानन्द शर्मा (बिर्मा), दिलकृष्ण ताम्राकार, मणि शाह, रुपकराज शर्मा, बेणु सुब्बा, धीरेन्द्र श्रेष्ठ (केदार), अनुपशमशेर जबरा, कपिल मुखिया, दुर्लभकुमार थापा, अच्युतकृष्ण खरेल, लालबहादुर थापा, कोमल पाण्डे (मोहन), बाबुराम पुन, जुमानु राई, हरि खड्का तथा पेम दोर्जी, हरि श्रेष्ठ, लक्ष्मण श्रेष्ठ (लच्छु), ममजान, अशोक केसी, देवनारायण  चौधरी, लोकबहादुर शाही, उपेन्द्रमान सिंह, जीवन लामा, अजर अधिकारी,  वाईबी घले, राजु शाक्य र गणेश थापाप्रभृति केही श्रेष्ठतम फुटबलकेन्द्री व्यक्तित्वबीच हामीले महान् नेपाली खेलाडी भेट्टाउन सक्छौं । निश्चयतः  यिनै बीचका एकजना महान् लेफ्ट विन्गर एवं गोलकर्ता (स्कोरर्) हुन्—  रुपालशमशेर जबरा । यिनी जस्तो लेफ्ट विंगका अद्वितीय फुटबल खेलाडी  (एन युनिक लेफ्ट विंगर अफ नेपलीज फुटबल) कालान्तरमा नेपाल राज्यमा दृष्टिगत नभएको स्थिति छ । यथार्थतयाः गुणाकलन गर्दा यिनी दक्षिण एशियाली परिवेश (नेपाल, भारत, वंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान)को फुटबलका निकै राम्रा फुटबलर भन्न सकिने  आधार छन् । संवत् २०३४ मा नेपाल प्रहरी क्लब (पूर्ववर्ती महेन्द्र प्रहरी क्लब)ले त्रिभुवन च्यालेन्ज शिल्ड प्रतियोगिता (काठमाडौं), महेन्द्र गोल्ड कप (विराटनगर) र वीरेन्द्र शुभजन्मोत्सव कप (काठमाडौं) मा प्रथम त्रि– क्रम विजेता बनेर आफ्नो, शौर्य, पराक्रम, धीरता र बुद्धिमता प्रदर्शित गरेको परिदृश्य हामी देख्छौं । दक्षिण एशियाली छिमेकी मुलुक भारतमा सन् १९७७ मा मोहन बागानले सुव्रत भट्टाचार्यको कप्तानीमा नयाँदिल्लीको डूरण्ड कप, कलकत्ताको आईएफए शिल्ड र मुम्बईको रोवर्स कप फुटबल प्रतियोगिता जितेर एकै खेलवर्षको सिजनमा ग्रायण्ड स्लाम अर्थात् त्रिपल– क्राउनको ह्याट्रिक विजय प्राप्त गरेको ऐतिहासिक सन्दर्भ छन् । यसैप्रकार सन् १९९० मा कुलजीतसिंहको संलग्नतामा ईष्ट बंगाल क्लबले डूरण्ड कप,  आईएफ शिल्ड र रोवर्स कप त्रि–क्रम विजयश्री प्राप्त गरी लामो कालखण्ड पश्चात्प्रासंगिक देशमा इतिहास रचेको वृतान्त हामी पाउने गछौं । संवत् २०४० मा मदन पुरस्कार प्राप्त औपन्यासिक कृति ‘अलिखित’मा आख्यान पुरुष धु्रवचन्द्र गौतमले यस्तो एकजना स्वदेशी चिन्तकको चित्रण  गरेका छन्, जसले दिवास्वप्नमा नेपालले ओलम्पिक र विश्वकप फुटबल  प्रतियोगितामा स्वर्णपदक जितेको र प्रथम विजेता बनेको परिकल्पना  गर्दछ । यसैको हाराहारीमा एकथरी युवाजमातले युएनमा रसिया, संयुक्त राज्य अमेरिका, चीन, बेलायत र फ्रान्सले झैं के नेपालले भिटो (विशेष अधिकार) कहिल्यै पाउन सक्ला भनी सोच्ने गरेको यथार्थतिर अन्यलाई चिन्तनउन्मुख र विचारणीय तुल्याएका छन् ।

वीरगंजका साहेबज्यू परिवारकी चेली गुरुदिदी प्रा. प्रेमा शाहले उहाँ ठाकुरराम बहुमुखी क्याम्पस (स्थापनाकालः संवत् २००९, सन् १९५२) मा छँदा फुटबल खेलाडी रुपाल दाजुको चर्चा चल्दा चौथो दशकतिर आफ्नो जीवनकालमा एकचोटि भन्नुभएको मलाई स्मरण हुन्छ— ‘मेरा वत्सगोत्री मावलीका पूर्वज कुँवर काजी बालनरसिंह राणा नेपालका एकजना सुयोग्य,  दुस्साहसी र पुरुषार्थी राष्ट्रिय व्यक्तित्व थिए । उनका दश जना उत्तराधिकारी वंशज एवं सन्ततिले समयविम्बको विस्तारण, पारस्परिक अन्तरसंघर्ष, राजनीतिक उत्कर्ष तथा चरमोत्सर्गबीच नेपाल राज्यको प्रधानमन्त्री (सरकार प्रमुख) बनेर राष्ट्रिय सेवा गरेका हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा लोकतन्त्रको विश्वव्यापी सर्वमान्य परिभाषा राम्ररी नप्रष्टिएको समयमा  सत्तारूढ भएका पूर्ववर्ती शासकलाई फगत निरंकुशतन्त्रीय प्रत्यारोपबीच कसैले व्याख्या गर्न कहीं कतै उचित नभएको जस्तो देखिन्छ । जसबीच कुँवर जंगबहादुर राणा, बमबहादुर राणा, रणोद्वीपसिंह राणा (तीनपुत्र), वीर शमशेर जबरा, देव शमशेर जबरा, चन्द्रशमशेर जबरा, भीमशमशेर जबरा, जुद्धशमशेर जबरा (पाँच नाति) तथा पद्मशमशेर जबरा र मोहनशमशेर  जबरा (दुईजना पनाति) छन् । यसैप्रकार आर्थिक, सामाजिक, न्यायिक, व्यापारिक, व्यावसायिक, औद्योगिक र खेलक्षेत्रका तिनका वंशजले अनेक ठाउँमा प्रशंसनीय भूमिका निर्वाह गरेको स्थिति छ । आफन्त राष्ट्रिय फुटबल खेलाडी रुपालशमशेर जबरा तिनै बीचका एक जना प्रतिबद्ध विशिष्ट प्रतिभा हुन् । कालक्रममा वत्सगोत्री अन्य राजनीतिज्ञ पुष्पकमल दाहाल नेपाल  राज्यका प्रधानमन्त्री बनेको हामी देख्छौं ।’

एथलेटिक्स र फुटबलको सन्दर्भमा रुपालबारे परोक्ष प्रत्यक्ष कतिपय कुरा सुन्न पाइएका हुन् । वीरगंजका लोकतान्त्रिक सेनानी एवं खेलप्रेमी मखन शाहले जीवनकालमा जनसमुदाय समक्ष एकदुई पल्ट भनेको म सम्झिन्छु — ‘भारतको पश्चिम वंगालको कोलकातालाई एशियाली फुटबलको ‘मक्का तीर्थ’ मानिन्छ । मोहम्मडेन स्र्पोर्टिङ, इष्ट बंगाल र मोहन बगान क्लव उक्त राज्य एवं भारतीय फुटबलका अग्रगण्य फुटबल टोली हुन् । उताका केही फुटबल एजेन्टले यतातिर आउँदा रुपाललाई ती टिममा संलग्न हुन समय समयमा आग्रह गरिआएको इतिहास भए पनि घरबाट स्वीकृति नमिल्नाले रुपालले उता खेल्न पाएनन् । यसै गरी समाजसेवी विष्णु गिरी (संवत् २०६०  माघमा अमर शहादत प्राप्त पूर्व मेयर गोपाल गिरीका पिता) ले पर्सेली व्यापारिक, व्यावसायिक र बौद्धिक जमघटमा एकदुई पल्ट भन्नुभएको मलाई सम्झना हुन्छ— ‘सानैदेखि रुपाललाई दौड र भकुण्डोप्रति अत्यधिक चासो थियो । तर यिनका अभिभावकले यिनलाई गर्मी याममा बिरामी पर्ला वा चोटसोट लाग्ला भनी माध्यमिक विद्यार्थीकालसम्म सार्वजनिक खेलकुदमा प्रवृत्त हुन रोकेका थिए । तदुपरान्त सामाजिक संजालका हितैषीका परामर्श  पश्चात् अन्ततः यिनीले बाह्य क्षेत्रमा खेल्ने अनुमति पाए ।

त्यसपछि यिनले गृहनगर वीरगंज, विराटनगर, सिद्धार्थनगर, नेपालगंज, भद्रपुर, पोखरा र काठमाडौंसहित दक्षिण एशियाली विभिन्न मुलुकको फुटबल रंगशाला (स्टेडियम)मा आफ्नो ‘फुट वर्क र स्कील’ देखाउन पाए । लोकप्रियता र फुटबलसूचक विशेष आकर्षणलाई निरुपण गर्दा यिनले भारत गणतन्त्रको नेपाली मूलका लोकप्रिय खेलाडी श्याम थापा र भाइचुङ भुटिया समान श्रेय आर्जन गर्न सकेको देखिन्छ ।

विश्व फुटबलको परिदृश्यमा समय-समयमा पेले (एडिसन ओरान्तेस दनासिमेन्टो, ब्राजिल), फेरेन पुष्कास (हंगेरी), लेव यासिन (रसिया) रोनाल्डो (ब्राजिल), क्रिश्चियानो रोनाल्डो (पोर्चुगल), बबि मुर, बबि चार्लटन, गैरी लिने कर, डेविड बेकम (बेलायत), डियगो मेराडोना, लेओनल मेसी (अर्जेन्टिना), फ्रान्क बेकनबर, गर्डमुलर, मिरोस्लाव क्लोस (जर्मनी), जोन क्रुयफ, मार्कोभान वास्टेन, रुथ गुलिट (नेदरल्याण्ड), युसेवियो, फीगो (पोर्चुगल), जिदाने जिदान, केलियनएमबापे (फ्रान्स), चुन्नी गोस्वामी, किट्टु, टी. बलराम, प्रदीपकुमार बनर्जी, जर्नेल सिंह, इन्दर सिंह, सुखविन्दर सिंह, दरबारा सिंह, हफिज रसिद, आलोक मुखर्जी, सुदीप चटर्जी, सुकुमार समाजपति, समरेश चौधरी, प्रसून बनर्जी, सैयद रहिम नवि, अकिल अन्सारी, कृष्णानु डे, सुवीर सरकार, सुधीर करमाकर, सुभाष भौमिक, सुरजीतसेन गुप्त, भाष्कर गांगुली, घोष दस्तीदार, अतनु भट्टाचार्य, हेमन्त डोरा, पिटर थंगराज, टि. आव, सैयद नइमुद्दीन, मोहम्मद हबीब, शब्बीर अलि, मोहम्मद फरीद, गौतम सरकार, शिशिर घोष, मानस भट्टाचार्य, बाबु मणि, आईएम विजयन र विदेश बोस (भारत) प्रभृति खेल रत्नहरूबारे खेल रसिकबीच गणना र सम्झना भइरहने गर्दछ ।

यस्तै बीच, नेपाली फुटबलको प्रसंगमा रुपालशमशेर जबरा, अच्युतकृष्ण खरेल, कोमल पाण्डे (मोहन), अशोक केसी, ब्रम्हानन्द शर्मा (बिर्मा), धीरेन्द्र श्रेष्ठ (के दार), बेणु सुब्बा, रुपकराज शर्मा र गणेश थापाका खेलको लेखाजोखा तथा विश्लेषण (एनालाइसिस्) हुने गर्दछ ।

सातौं दशकको मध्योन्मुख वर्षतिर झापाको ओली प्रतिष्ठानद्वारा आयोजित यौटा समारोहमा म सहभागी थिएँ । संयोगवश आफ्नो समयका प्रतिभाशाली फुटबल खेलाडी र चर्चित ग्रन्थ ‘सम्झना र चिन्तन (संवत्  २०६६)’ का स्रष्टा ज्ञानवृद्ध राष्ट्रिय अर्थशास्त्री हिमालयशमशेर जबरा समीप मैले बस्ने सुअवसर पाएँ । समीक्षित राष्ट्रिय खेलप्रतिभाबारे चर्चा गर्दा उहाँले आफूले रुपालको खेलकौशल देख्न नपाएको प्रत्युत्तर दिनु भएको थियो । वस्तुतः समतावादका प्रणेता एवं नाट्य सम्राट बालकृष्ण समसित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा यही कुरा झिक्दा राष्ट्रिय विभूति समजीले आफू रुपालको खेलबाट प्रभावित रहेको यथार्थ प्रकट गर्नुभएको थियो ।

नेपालको पर्सेली वीरगंजको परिवेशलाई बेलाबेलामा यहाँको आर्थिक,  सामाजिक, राजनैतिक, साँस्कृतिक र खेल क्षेत्रका विविध प्रतिभाले चहकिलो तुल्याएको पाइन्छ । रुपाल, वीरगंजको त्यही धुलो र माटोबाट उठेका नेपाली खेल विधाका अद्वितीय रत्न हुन् । संभ्रान्त कुलीन परिवारमा संवत् २००४ मा रुपाल पैदा भएका हुन् । संक्षेपमा वंशवृक्ष निरूपण गर्दा रुपाल नेपालको एक समयका प्रधान सेनापति ज. धीर शमशेर जबराका खनाति रहेको देखिन्छ । यिनका बडाजिबा जनरल खड्गशमशेर जबरा इतिहास नियाल्दा राजनैतिक अन्याय र भेदभावमा परेका व्यक्तित्व हुन् । रुपालशमशेरका जिजुबुवा बहादुर शमशेर जबरा र बुवा वेदप्रकाशशमशेर जबरा आफ्नो समयमा प्रादेशिक  प्रशासनतर्फ बडाहाकिम रहेको देखिन्छ ।

मेरा छिमेकी ठेकेदार दम्पती घनश्याम भुसाल र श्रीमती कल्पना  भुसालका छोरा शीर्षक एवं छोरी संरचना हुन् । शीर्षक भुसाल र उनका समकक्षी साथीभाइको डफ्फा फुटबल खेलप्रति अत्यधिक आकर्षित छन् । सानो चौबाटो, साघुँरो चौघेरा र भीडभाडको स्थानमा उनका मित्रजन प्रायःगरी प्रत्येक दिन साँझपख फुटबलको अभ्यास (प्राक्टिस) गर्छन् । यीबाट मलाई विश्व  फुटबलका एकप्रकारको अजेय प्रतिभा पेले (ब्राजिल) को बाल्यकालसम्बन्धी लेखोटका सम्झना हुन्छ । म्याट्रिक वरिपरिका यस्ता बालखहरूसित कुराकानी गर्दा यिनले रुपालशमशेर जबरा, अच्युतकृष्ण खरेल, कोमल पाण्डे (मोहन),  धीरेन्द्र श्रेष्ठ (केदार), बेणु सुब्बा, ब्रहमानन्द शर्मा (बिर्मा), रुपकराज शर्मा र  गणेश थापा (सुपर स्ट्राइकर) जस्ता नेपालको राष्ट्रिय फुटबलमा ऐतिहासिक अवदान दिएका खेलाडीबारे अनभिज्ञता प्रकट गरेको मैले पाएँ । कतिपय अत्युच्च फुटबल खेलाडी (लेजेण्डरी प्लेयर) र अन्य विधाका उच्चतम् खेलाडीको नाउँ नव पुस्ताले नसुनेका हुन सक्छन् । यसमा उनीहरूको कुनै  दोष देखिंदैन । तर संस्थापनले यशस्वी र मनीषी खेलन्तेबारे लेख्य, श्रव्य र दृश्यपरक कतिपय माध्यमले ज्ञान दिलाउने अनवरत प्रयास गर्नु जरुरी छ । कुनै पनि क्षेत्रका नेपाली प्रतिभा होऊन्, ‘तिनीहरू विस्मृत तुल्याइनु ठिक छैन । वीरगंजको माधव बान्धव स्मृति फुटबल प्रतियोगितादेखि विभिन्न क्रम र चरण हुँदै रुपाल क्रमिक रुपमा अगाडि बढेका हुन् । खेल अभियन्ता माधवप्रसाद भट्टराई (गोरखाका एक समयका वशिष्ठगोत्री भट्टराईका वंशज) एक समयमा पर्सेली भूमिको फुटबल टिमका उत्कृष्ट गोलरक्षक (कस्टोडियन) थिए । कालक्रममा यिनैका सम्झनामा माधव बान्धव स्मृति फुटबल  प्रतियोगिता वीरगंजमा संचालन गरिएको हो । विशिष्ट गोलरक्षक (कस्टो डियन) माधव भट्टराई र श्रीमती मिथिलादेवी भट्टराईका एकमात्र सन्तति र चना हुन् । जसको विवाह समयक्रममा नेपालगन्जका प्रसिद्ध आधुनिक नेपाली  आख्यानवेत्ता प्रा. सनत रेग्मीसित भएको हामी देख्छौं ।

स्रष्टाएवं राजनीतिज्ञ लोकेन्द्रबहादुर चन्दको भकुण्डोसूचक ‘बाह्रौं खेलाडी’ निबन्धकृति लोकप्रिय छ बौद्धिक फाँटमा । फुटबललाई विश्व  परिवेशमा ‘खेलविधाको राजा (किङ अफ द गेम्स)’ मानिन्छ । रुपालशमशेरलाई खेलपरक आफ्नो स्थान (पोजिशन) र श्रेष्ठता (डिग्निटि) का दृष्टिले हामीले अति उल्लेख्य खेलाडीको सम्मान दिन सक्छौं । रुपाल वा सो सरहका प्रतिभा भएका खेलाडीलाई अधिसंख्यकले बारम्बार स्मरण गर्नुमा विविध  कारण छन् । यिनी एकप्रकारले ‘फुटबल इज लाइफ एण्ड लाइफ इज  फुटबल



प्रतिक्रिया दिनुहोस्