दीपेश केसीः केपी शर्मा ओलीका तस्बिरहरु सडकका पोलमा अहिले मात्र झुण्डिएका होइनन् । सामाजिक सुरक्षा कोषको दुई वर्ष अघिको घोषणा अघि उनको तस्बिर पोल पोलमा झुण्ड्याइएको थियो । अहिले त्यसै गरी ओलीको तस्बिर बानेश्वर र गोदावरीका बाटोका पोल पोलमा झुण्ड्याइएका छन् । उनको काठे स्टाच्यु गोदावरीस्थित नेकपा एमालेको विधान महाधिवेशनस्थलमा राखिएको छ जहाँ ओलीभक्तहरु तस्बिर खिचाएर खाट्टी एमाले भएको प्रमाणित गरिरहेका छन् ।
कम्युनिस्ट पार्टीहरु नीति मान्ने दाबी गर्छन् । नीति र सिद्धान्तमा बहस गरेको भन्छन् । तर, विश्वका कम्युनिस्ट पार्टीहरुमा नीति र सिद्धान्तमा भन्दा नेता हुनेमा बढी छलछाम हुने गरेको छ । भएको नेताले सर्वशक्तिमान बन्ने रणनीतिहरु बनाउँछन् । नेतृत्व हस्तान्तरण आफ्नै लागि जोखिम ठान्छन् । प्रचण्डले लिन बायाओको उदाहरण दिदै माओत्से तुङले उत्तराधिकारी घोषणा गर्दा उल्टै मार्न खोजेको उदाहरण दिएका छन् । लिन प्याओ मंगोलियामा विमान दुर्घटनामा मारिएका थिए र यो घटनालाई माओविरुद्धको कू गर्न खोज्दा भाग्दाको परिणाम भनी उल्लेख समेत गरिएको छ । उनले आफू लिन प्याओ जन्माउने पक्षमा नरहेकाले उत्तराधिकारी घोषणा नगर्ने भनेका छन् ।
सतहमा हेर्दा कम्युनिस्ट पार्टीमा सिद्धान्त र विचारमा गहिरो बहस भएको लाग्दछ । तर, ती राजनीतिक आवरण मात्र हुन् । मुख्य विषय सत्ता संघर्ष नै हो जुन सिद्धान्तको आवरणभित्र हुने गर्छ । सिद्धान्तले स्वर्गीय सँसारको आशा देखाउँदै नेतृत्वलाई बलियो रुपमा स्थापित गर्न खोज्छ । विश्व कम्युनिस्ट राजनीतिमा हुने यस्तै घटनाक्रमको पुनरावृत्ति नेपालमा पनि भइरहेको छ । सुन्दा आनन्द आउने नारा अनि स्वर्गीय सँसारको परिकल्पना गरिदै अघोषित धर्मका रुपमा कम्युनिस्ट विकसित भइरहेको छ जहाँ नेता को बन्ने भन्नेमा संघर्ष निरन्तर चलिरहेको छ । जसरी प्रचण्ड र ओलीबीच नेकपा हुँदा चल्यो । एमालेमा कुनैबेला माधव नेपाल र बामदेव गौतमबीच चल्यो । पछि ओली र नेपालबीच चल्यो । कार्यकर्ताहरु कुनै एक नेतालाई ईश्वरको हैसियतमा पुर्याएर संग्राममा होमिए ।
हुन त कार्ल मार्क्सले धर्मलाई अफिम भने । तर, तिनै कार्ल मार्क्सले मार्क्सवाद नामको राजनीतिक विचार ल्याउँदा पछ्याउनेहरुले धर्मग्रन्थका रुपमा ग्रहण गरे । मार्क्सलाई कम्युनिस्टहरुले ईश्वरको जस्तै दर्जा दिए । कुनै एउटा धर्म विशेष मान्ने र धर्मग्रन्थमा विश्वास गर्दै आएकाहरु मार्क्सलाई ईश्वर मान्दै मार्क्सवादलाई धर्म ग्रन्थ जसरी आत्मसाथ गर्न पुगेका छन् । उनीहरुले चालै नपाई मार्क्सवादलाई धर्मग्रन्थ मानेर ‘धर्मनीरपेक्ष’ लाई धर्मका रुपमा अँगालिरहेका छन् र मार्क्सलाई ईश्वर मानिरहेका छन् । मार्क्सवादका अनुयायी भई कम्युनिस्ट विचारलाई बढाएका लेनिन, स्टालिन र माओत्से तुङ जस्ता नेताहरु ईश्वरका रुपमा थपिएका छन् । उनीहरुले धर्म नीरपेक्षलाई नयाँ धर्मको रुपमा बलियो गरी स्थापित गरेका छन् । आफ्नो देश विशेषमा चलिआएको धर्मलाई विस्थापित गर्दै नयाँ धर्मलाई स्थापित गर्दै गए । त्यो धर्म साम्यवादको परिकल्पनामा आधारित हुँदै आएको छ । जसलाई उनीहरुका उत्तराधिकारीले निरन्तरता दिएका छन् ।
यसरी कम्युनिस्टहरुले नयाँ धर्मका रुपमा मार्क्स, लेनिन, स्टालिन र माओ जस्ता नेताहरुलाई ईश्वर जस्तै गरी प्रस्तुत गरेका छन् । त्यही संस्कारको सिको गर्दै चीनमा देङ स्याओ पिङ र अहिले सी चिनफिङलाई देवत्वकरण गरेका छन् । माओ पछि सी नै चीनका महान् नेता हुन् भनी पढाइन थालिएको छ । सी विचारधारा पाठ्यक्रममै राखिएको छ । उत्तर कोरियामा किम इल सुङ कम्युनिस्ट शासनका संस्थापक हुन् । जो त्यहाँ ईश्वर जसरी पूजिन्छन् । उनका छोरा किम जोङ इल हुँदै सत्ता किम जोङ उनको हातमा पुगेको छ । किमको पनि देवत्वकरण भइसकेको छ ।
चीनमा माओको शव म्युजियममा राखिएको छ । बेइजिङस्थित उनको शव सुरक्षित तरिकाले शिशाभित्र राखिएको म्युजियममा अधिकांश कम्युनिस्ट विचारधाराकाहरु जाने गर्छन् । नेपालका कम्युनिस्ट नेता कार्यकर्ताले उक्त स्थानलाई तीर्थस्थलकै रुपमा लिन थालिसकेका छन् । भियतनाममा दिवंगत नेता हो चि मिन्हको शव पनि त्यसै गरी शिशामा सुरक्षित तरिकाले राखिएको छ । यसरी कम्युनिस्टहरुमा कसैको देवत्वकरण गर्ने प्रचलन बाह्य जगतमा छँदैछ । नेपालमा पनि त्यस्तै शैली विकास हुन थालेको छ ।
दश वर्ष लामो सशस्त्र जनयुद्धताका प्रचण्डका बारे अनेक किस्साहरु नै बने । कतिपयले उनलाई वायुपंखे घोडामा चढेर आउने राजकुमारको शैलीमा व्याख्या गरे । प्रचण्ड शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि पनि उनलाई अरुभन्दा बिल्कुल फरक मान्छेका रुपमा प्रस्तुत गरियो । माओवादीवृत्तमा प्रचण्डलाई देवत्वकरण गरियो । उनलाई प्रथम राष्ट्रपति भनी राजधानीका शहरहरुमा पोस्टर नै टाँसिएको थियो । प्रचण्ड अहिले पनि देवत्वकरणकै रुपमा प्रस्तुत हुन चाहन्छन् । आफूलाई परिवर्तनका महानायकका रुपमा व्याख्या गरिरहन्छन् । प्रचण्डले पनि धर्मलाई अफिम नै देखे । तर, माओवादलाई नयाँ धर्मका रुपमा नेपालको धर्तीमा विकास गर्न महत्वपूर्ण भूमिका खेले । माओलाई ईश्वरका रुपमा प्रस्तुत गरेर आफूलाई अनुयायी देखाउँदै भविष्यमा नयाँ ईश्वरका रुपमा प्रस्तुत हुने वातावरण विकास गरे ।
यी विषयहरु प्रस्तुत गरिरहँदा कम्युनिस्टहरु धर्ममा विश्वास गर्दैनन् र ईश्वरको अस्तित्व स्वीकार्दैनन् भन्ने लाग्छ । त्यसो हो भने उनीहरु किन मार्क्सलाई ईश्वर जसरी मान्दै अनुयायी लेनिन, माओ जस्ता नेतालाई पनि ईश्वरकै रुपमा स्थापित गरिरहेका छन् । कम्युनिस्ट मेनिफेस्टोलाई पवित्र धर्मग्रन्थ जसरी लिन्छन् । मार्क्सवाद, लेनिनवाद, माओवादसँग सम्बन्धित पुस्तकहरु उनीहरुका लागि वेद जस्तै बनिसकेको छ । पक्कै पनि उनीहरु परम्परागत धर्मलाई विस्थापित गर्न लागेका छन् ।
मार्क्सले गहिरो अध्ययन र अनुसन्धान गरी लेखेका कृतिहरुले मानव इतिहासमा पृथक विचार प्रस्फुटित गर्न सक्यो । द्वन्द्वात्मक भौतिकवाद देखि आलोचनात्मक चेतनाको विषयले नयाँ विचारतर्फको आँखा खोल्न सक्यो । सत्यलाई नियाल्ने र बुझ्ने नयाँ दृष्टिकोण प्रदान गर्यो । द्वन्द्वको सम्बन्धको बहुआयाम देखि द्वन्द्व यथार्थ हो र नकारात्मक मात्र हुँदैन भन्ने चेतना दिन सक्यो । तर, माक्र्स नै आधुनिक जमानाका नयाँ धर्म प्रवर्तकका रुपमा देखिए । प्राध्यापक अभिजित पाठकले तर्क गरेजस्तै उनी आधुनिक युगका धर्मनीरपेक्ष नामक धर्मको प्रवर्तक देखिए । उनीद्वारा प्रवर्तन भएको धर्ममा आत्माको सहजज्ञानयुक्त संगितविहिन बन्यो । जसले मानिसको जीवनमा प्रवेश मार्ग देखिएपनि बाहिर निस्कने मार्ग भने बन्द जस्तै गरिदिन्छ । स्वप्निल सँसारको परिकल्पना जति धर्मले गरेको छ त्यो भन्दा बढी क्रान्ति र विद्रोहका लागि उत्प्रेरित गर्दै कम्युनिस्ट सिद्धान्तले गर्ने गरेको छ । यसकारण पनि यो पृथक धर्मका रुपमा स्थापित भइसकेको छ । जसका प्रवर्तकहरु ईश्वरका रुपमा प्रस्तुत गरिएका छन् । मुख्य अनुयायीहरु अन्तगत्वा आफैलाई ईश्वरको रुपमा प्रस्तुत गर्न थालेका छन् ।
प्रचण्ड देखि ओलीसम्मको देवत्वकरण त्यसैको उदाहरण हो । उनीहरुले अँगालेका धर्मनीरपेक्ष धर्मले जे बाटो देखाएको छ त्यही गरेका हुन् । धर्मनीरपेक्ष धर्मलाई अझ विकास र विस्तार गर्दै आफू समेत देवत्वकरण भइरहेका छन् । देवत्वकरण आखिर उनीहरुको परम्परा नै हो ।