काठमाडौँ, १७ असोज: चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको राससलाई जानकारी दिए । हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत एक हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । ९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताए ।
चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ । उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् ।-रासस/File Photo