लमजुङ, २० असोज । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध बनेको साढे तीन महिनापछि बेँसीसहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।
गत असार १ गतेदेखि अवरुद्ध भएको यस सडकखण्डअन्तर्गत खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर भागमा गएको विभिन्न ठाउँको पहिरो हटाउनाका साथै सडक मर्मत गरेसँगै आज बिहानदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक योजना लमजुङका इन्जिनियर सुरज महर्जनले बताए ।
उनले भने, “विशेषगरी पहिरा हटाउन बाँकी मनाङ नासो गाउँपालिकास्थित बगरछाममा गएको ३०० मिटर पहिरो गत आइतबार साँझ ५ बजेदेखि हटाउन सुरु गरेर मङ्गलबार साँझसम्म हटाएको थियो । यसका साथै दलदल भएको विभिन्न ठाउँमा मर्मत गरेपछि आजबाट बेँसीसहरदेखि चामेसम्मै पूर्णरुपमा सडक सञ्चालन हुन थालेको छ ।” ठूलो पहिरा गएकाले दुईवटा डोजरको सहयोगले हटाउन सफल भएसँगै सवारी सञ्चालनमा आएको उनको भनाइ छ ।
खोत्रोमा अवरुद्ध भएको सडक तलबाट १० मिटर जति फिलिङ उठाएको छ । अवरुद्ध १५० मिटर लम्बाइसम्मै यस सडकमा फिलिङ गरी सडक मर्मत गरेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै, धारापानी १५० मिटर जति सडक नै भासिएको थियो । त्यहाँ पनि सोही खोत्रोको जसरी काम हुँदै गरे पनि तत्कालका लागि सो स्थानमा रहेका आमा समूह भवनबाट करिब २०० मिटर सडक तत्कालका लागि नयाँ खुलाएकाले सडक सञ्चालन भएको सो कार्यालयका प्रमुख महर्जनको भनाइ छ ।
यस खण्डमा उत्तरगय कन्सट्रक्सन प्रालि रसुवाले ठेक्का पारेर निर्माण गरेको छ । यस कम्पनीले खोत्रोदेखि तिमाङसम्मको खण्ड खुलाउनका लागि रु एक करोड ८२ लाख स्टिमेट भएकामा ९० लाखमा ठेक्का पारेर काम अघि बढाएको थियो । दसैँको मुखमै बेँसीसहर चामे सडक खुलेदेखि यात्रुहरुलाई सहज भएको छ । दसैँतिहार मनाउनका लागि जिल्ला प्रवेश गर्नेदेखि मनाङका व्यापारीलाई ठूलो राहत पुगेको छ । साथै चामेसम्मै सवारी पुग्ने भएपछि बेँसीसहरका व्यापारीहरुले समेत सामान पठाउन सहज भएपछि उत्साहित बनेका छन् । लामो समयसम्म ढुवानीदेखि खाद्यान्न सामग्रीहरु पठाउनलाई समस्या हुँदै आएको थियो । लमजुङ मनाङको एक मात्र बेँसीसहर चामे सडक भएकाले यी दुवै जिल्लाका व्यापारीहरुलाई सवारी साधनले सहज भएको उनीहरुको भनाइ छ ।
सडक अवरुद्ध हसँदा यातयात व्यवसायीहरुसमेत मर्कामा पर्दै आएका थिए । सडक अवरुद्ध भएपछि यात्रु तथा ढुवानी सामग्री ओसारपोसार गर्न नपाएपछि मर्कामा रहेका यस रुटमा चल्ने सवारी साधनका सञ्चालक तथा चालकसमेत हर्षित भएका छन् । सडक अवरुद्ध भएपछि मनाङ जान तथा आउनका लागि एउटै सहारा हेलिकप्टर रहेको थियो । नेपाली सेनाको हेलिकप्टरदेखि प्राइभेट हेलिकप्टरमा बेँसीसहरबाट आवश्यक ढुवानीका सामग्री खाद्यान्नलगायत राहतका सामग्रीसमेत लगिएको थियो ।
साथै कोभिडविरुद्धको खोप पनि हेलिकप्टरबाट नै पु¥याउनसपर्ने बाध्यता थियो । बेँसीसहर चामे सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहरदेखि ४० किलोमिटर दूरी खोत्रो सिरानतालदेखि ५० किलोमिटर तिमाङसम्मको बीच भागमा अवरुद्ध भएको सडक खुलेसँगै बेँसीसहर चामे सडकमा सिधै सवारी आवतजावत हुँदा यतिबेला यात्रु तथा ढुवानी गर्नका लागि केही सहज भएको छ ।