Logo

पूर्व गभर्नर तिलक रावललाई भारतको राजदूत बनाउने प्रधानमन्त्रीको तयारी



काठमाडौं, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको लागि नेपाली राजदूतमा पूर्व गभर्नर डा. तिलक रावललाई नियुक्त गर्ने तयारी गरेका छन् । सरकारले एकैपटक धेरै देशमा राजदूत नियुक्त गर्ने तयारी गरिरहेको बेला भारतमा भने रावललाई नियुक्त गरिने तयारी भएको उच्च स्रोतको दाबी छ ।

यसअघि रावल यही सरकारमा मन्त्री बन्ने चर्चा थियो । प्रधानमन्त्री देउवाले गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन् । कतिपयले हमाल मन्त्री बन्नुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर पनि हेरेका छन् ।

तर, मन्त्री हमाल स्वयमले भने आफ्नो कांग्रेसमा ५० वर्षभन्दा लामो राजनीतिक जीवन रहेको र ठूलो योगदान पुर्याएको दाबी छ । उनले प्रधानन्यायाधीश जबराको कोटाबाट मन्त्री बनाईएको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरिसकेका छन् ।

तर, नाताले हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् । अहिले भारतको राजदूत बन्ने तयारीमा रहेका डा. रावल पनि प्रधानन्यायाधीश जबराका सम्धी हुन् । तर, प्रधानमन्त्री देउवाले भने रावललाई कांग्रेसकै कोटाबाट राजदूत बनाउन लागिएको पार्टीका नेताहरुलाई बताउने गरेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्