काठमाडौं, असोज २४ । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनत गरिरहेका छन् ।
दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजनाअनुसार शुक्रबारसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र बझाङमा जिल्ला अधिवेशन अघि बढेको थियो । जसमध्ये जुम्लामा शुक्रवार अवेरसम्म निर्वाचन प्रक्रियामा गइसकेको छैन । हिमाली जिल्लामध्ये डोल्पा, सोलुखुम्वु, रसुवा, मयाग्दी लगायतका जिल्लाहरुमा अधिवेशन हुन सकेको छैन ।
अधिवेशन सम्पन्न भएको जिल्लामध्ये देउवा निकट सभापतिहरुमा ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मनाङमा शंकर गुरुङ, रुकुम पूर्वमा केशरमान रोका, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संखुवासभामा दीपक खड्का, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्बबहादुर शाही र बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये पनि संखुवासभामा निर्वाचित खड्का महामन्त्री शशांक कोइराला निकट हुन् । गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने महामन्त्रीका दाबेदार गगन थापा निकटका हुन् ।
जिल्ला अधिवेशन भएको मनाङ, मुस्ताङ, रुकुम पूर्व र कालिकोटमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । अहिलेसम्म प्राप्त १३ जिल्लाको नतिजा हेर्दा १४औं महाधिवेशनमा पौडेल पक्ष कमजोर हुँदै गएको देखिन्छ । अधिल्लो महाधिवेशनमा ७५ जिल्लामध्ये कोइराला र पौडेल पक्षको ४६ जना जिल्ला सभापति थिए भने देउवा निकट जिल्ला सभापति २९ जनामात्र थिए । तथापि १३औं महाधिवेशनमा देउवाले सभापतिमा विजयी प्राप्त गरेका थिए । देश संघीयतामा गएपछि अहिले २ जिल्ला थपिएको छ । यही तरिकाले नेतृत्व आउने हो भने जिल्ला सभापतिमा देउवा पक्षको कम्तीमा ४० जना आउने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।