Logo

किन राजीनामा दिन बाध्य भए हमाल ?



काठमाडौं, २४ असोज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले आजै राजीनामा दिने घोषणा गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री हमालले आजै विहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने बताएका हुन् । उनले आफूलाई मन्त्री बनाईएको विषयलाई लिएर अनावश्यक रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायालयमाथि प्रहार गरिएको भन्दै असन्तुष्टिसमेत पोखेका छन् ।

धमलासँगको कुराकानीमा उनले भने-“मैले त्यत्रो ४५ वर्ष राजनीति गरें । मलाई मन्त्री बनाउन प्रधानन्यायाधीशले नाम सिफारिश गरेको नै होईन, उहाँ मेरो नाता पर्दैमा यसरी नाम मुछ्न मिल्छ ? मलाई त सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्री बनाउनुभएको हो । प्रधानमन्त्रीमात्रै होईन, मलाई प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव सबैले शुभकामना दिनुभएको हो ।’

उनले आफूले गरेको योगदानको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्री बनाएको पनि स्पष्ट पारे । यद्धपी उनले आफ्ना लागि मन्त्री पद ठूलो कुरा नभएको पनि सुनाए । उनले भने,”अब मलाई प्रधानमन्त्रीज्यूले तपाईँ बस्नुपर्छ भनेपनि अब बस्दिन् । म लोकतन्त्र र न्यायालयको रक्षाको लागि सदैव दृढ छु । मेरो लागि मन्त्री पद ठूलो कुरा होईन, व्यवस्था ठूलो कुरा हो । न्यायालयलाई बचाउनको लागि राजीनामा गरेको हुँ ।”

हमाल कांग्रेसमा चार दशकभन्दा बढि समयदेखि सक्रिय छन् । उनी मन्त्री भएपनि अहिलेसम्म मन्त्री क्वार्टर गएका छैनन् । आफन्तकै घरमा बस्दै आएको जनाईएको छ ।

मन्त्री हमालद्वारा राजीनामाको घोषणा



प्रतिक्रिया दिनुहोस्