Logo

निलाम्बरलाई भाजपाले यसकारण गर्यो बेवास्ता



काठमाडौं, २ कात्तिक । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य बिदाई भेट भन्दै झण्डै एक महिनायता दिल्लीमा भेटघाटमा व्यस्त छन् । ५ असोजमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयपछि आचार्यले दिल्लीमा पत्र समेत पाए । त्यसपछि उनी धमाधम बिदाई भेटमा सक्रिय भएका छन् ।

आचार्यले भारतका विदेशसचिव हर्षवद्र्धन श्रृंगलासँग बिदाई भेट गरिसकेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश सचिव एस जयशंकरसँग पनि भेटको प्रयास गरेको बुझिएको छ । तर, विदेश मन्त्रालयबाट कुनै खबर पाएका छैनन् ।

भारतका गृहमन्त्री अमित शाहसँग पनि आचार्यले भेटको पहल गरे । रक्षामन्त्री राजनाथ सिंहलाई भेट्ने उनको इच्छा थियो । तर, उनीहरुसँग भेटको समय पाएनन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डालगायत उच्च तहका नेतासँग आचार्यले भेटको पहल गरेपनि सकारात्मक जवाफ नआएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार भाजपा आचार्यप्रति सकारात्मक छैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा निलाम्बर आचार्यको भारतका लागि राजदूत नियुक्तिले धेरैलाई आश्चर्यमा पारेको थियो । मन्त्री भइसकेका र पाका आचार्यलाई भारत पठाउने ओलीको निर्णयमा चातुर्यता लुकेको चर्चा पनि थियो ।

आचार्यले भारत बसाईंका क्रममा भारतको सत्तापक्षलाई चिढ्याउने कार्यहरु पनि गरेको बुझिएको छ । उनले भारत गएपछि पाकिस्तानी हाइ कमिस्नरलाई भेटेका थिए । राजदूतका रुपमा दिल्ली पुगेको केही दिनमै भएको त्यो भेटप्रति भारतले निकै गम्भीरता देखाएको बुझिएको छ ।

भाजपाका प्रभावशाली नेता अमित शाहसँग भएको भेटमा पनि उनले केही संवेदनशील विषयमा बोलेका थिए । शाह उनले उठाएको विषयप्रति निकै असन्तुष्ट भएर भेट नै छोट्याइदिएको बुझिएको छ ।

अहिले राजदूत आचार्यले कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, नेता राहुल गान्धीलगायतसँग बिदाई भेट गरेका छन् । भाजपा नेताहरुले भेट्न नमानेपछि आचार्यको ध्यान कँग्रेस आईका नेताहरुतर्फ गएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्