काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको देशभर वडा अधिवेशन भएको छ । वडा तहको प्रतिनिधि चयनका लागि भएको अधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा हुने तय भएको महाधिवेशनका लागि सबैभन्दा तल्लो इकाईको हो ।
एमाले महाधिवेशन कुनै हालतमा मंसिरमै हुने अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पारिसकेका छन् । एमाले विधान अनुसार ओली पुनः अध्यक्ष कायमै रहन ११ फागुन २०७८ भित्र महाधिवेशन भइसक्नुपर्छ । अन्यथा उनी ७० वर्ष कट्नेछन् र विधानले अध्यक्ष वा कुनैपनि कार्यकारी कमिटीका पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउनेछैनन् ।
ओलीकै लागि एमालेको विधान संशोधन गर्न विधान महाधिवेशन भएको थियो । उनकै लागि विधान संशोधन गरी ७० वर्षे उमेरहद राखेर एउटा वाक्यांश थपियो जसमा तर थपेर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मवारी बहन गर्न बाधा पुगेको मानिने छैन भनिएको छ ।
अब ओलीलाई विधानले अर्को कार्यकाल अध्यक्ष बन्न रोक्ने छैन । उनका विरोधी पनि बलिया छैनन् । ओलीका सबैभन्दा ठूलो चुनौती बनेका माधवकुमार नेपाल एमालेमा छैनन् । नेपाल पक्षमा रहेको भीम रावलसहितका १० बलिया नेताहरुको शक्ति ओलीलाई पार्टी अध्यक्ष बन्नबाट रोक्न चुनौती दिने क्षमता राख्दैनन् ।
अहिले एमालेमा ओली नै निर्विकल्प अध्यक्ष हुन् भन्ने सन्देश प्रवाह गरिएको छ । योसँगै ओलीले जो जसलाई चाह्यो उही पदाधिकारी वा केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बलियो छ । यसकारण अहिलेको एमाले संगठनले ओलीलाई निर्विकल्प र प्रतिष्पर्धीविहिन बनाइदिएको छ ।
ओलीले यसकारण पनि माधव नेपालरहित एमाले बनाउन चाहेको विश्लेषणहरु भइरहेको छ । नभन्दै माधव नेपालले एमाले छाडेपछि विधान महाधिवेशन गरेर महाधिवेशनको मिति समेत तोके । छिटो छिटो प्रक्रिया बढाएर आफू अनुकूलको विधान संशोधन गरी अर्को कार्यकाल नेतृत्व लिन तयार देखिएका छन् ।