Logo

ओलीद्वारा प्रधानन्यायाधीश जबराविरुद्धको गतिविधिमा नलाग्ने स्पष्ट



विराटनगर, ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुको आलोचना गरेका छन् । उनले त्यसमा आफूहरु नअल्झने स्पष्ट पारेका छन् । उनले अदालतमा अहिले विकसित घटनालाइ राजनीतिक दाउपेच र अशोभनीय गुटबन्दीको संज्ञा दिदै खिचातानीमा नपर्ने बताए ।

‘हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र खिचातानीमा पर्नु छैन,’ ओलीले प्रेस चौतारी मोरङले आज आयोजना गरेको कार्यक्रममा भने, ‘न्यायाधीशलाई न्यायाधीशको आसनमा बसेर न्याय निरुपण गर्न त अदालतको श्रीमान्ज्यूहरुले नै नदिएको होइन र ?’

ओलीले धम्कीको भरमा इजलासका सदस्यहरु फेर्ने र न्यायाधीश मान्दिनँ भन्ने गतिविधिहरु भएको भन्दै आक्रोश पोखे । उनले भने, ‘यी तमासा परमादेशभन्दा अगाडिकै सेटिङ होइन र ?’ ओलीले सुशीला कार्कीलगायत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने पूर्वप्रधानन्यायाधीशहरुको खुलेर आलोचना गरे ।

उनले भने, ‘संविधानको बर्खिलाम सुशीला कार्कीले उहिले नै फैसला गर्नुभयाो ।’ उनले संवैधानिक इजलास गठनबारे संविधानमा उल्लेख भए अनुसार हुनुपर्नेमा धम्की दिने गतिविधिहरु भएको भन्दै आफूहरुले खबरदारी गर्दै आएको बताए ।

अहिले सत्ता गठबन्धनबाट राज्यको सिस्टम नै भताभुंग पार्ने खेलहरु भइरहेको आरोप लगाए । ओलीले भने, ‘एमाले राज्यको सिस्टम कमजोर पार्ने गतिविधिलाई असफल पारेरै छाड्छ ।’



प्रतिक्रिया दिनुहोस्