Logo

‘मुलुकलाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने जिम्मेवारी तरुणको हो’



काठमाडौं, १० कात्तिक । नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकलाई आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी तरुण युवाको भएको बताएका छन् ।

नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गरी अध्यक्ष बस्नेतले नेपाली जनताको लामो आन्दोलन र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्ने मुख्य जिम्मेवारी युवाको भएको बताएका हुन् ।

“स्थापनाको झण्डै सातदशक लामो समयसम्म आइपुग्दा नेपाल तरुण दलको आवश्यकता र अपरिहार्यता दिनानुदिन अझ बढी महत्वपूर्ण बन्दै गएको छ”, विज्ञप्तिमा भनिएको छ । उनले सामाजिक न्याय, महिला हिंसा, सबैखाले उत्पिडनमा परेका नेपाली नागरिकलाई न्याय दिलाउन नेपाल तरुण दलले हिजोका दिनमा गरेका सङ्घर्षको स्मरण समेत गरेका छन् ।

नेपाली जनताको मौलिक हक, अधिकारको रक्षाका लागि नेपाल तरुण दल सधैँ अग्र मोर्चामा उभिने अध्यक्ष बस्नेतको भनाइ छ । उनले नेपाल तरुण दलले स्थापना दिवसका अवसरमा संसारभर रहेका नेपाली युवा तरुणलाई आपसी भाइचारा, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्दै अगाडि बढ्न अनुरोध गरेका छन् । रासस
–––



प्रतिक्रिया दिनुहोस्