काठमाडौं, १२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । उनले चितवन क्षेत्र नं ३ बाट निर्वाचन लड्ने स्पष्ट पारेका हुन् ।
भरतपुरमा आज आयोजित कार्यक्रममा प्रचण्डले भने,‘म चितवन छाड्दिनँ, भाग्ने मान्छे हुँदै होइन ।’ माओवादी छाडेर नेकपा एमालेमा रहेका रामबहादुर थापा बादलले चितवनबाट प्रचण्डसँग चुनाव लड्ने घोषणा गरेपछि उनको भनाई आउन थालेको हो ।
प्रचण्डले चितवन नछाड्ने र बादल पनि प्रचण्डसँगै चुनाव भिड्ने भएबाट त्यहाँको राजनीतिक रोचक बनेको छ । बादललाई बलियो बनाउनकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशन बमोजिम मंसिरमा तय भएको महाधिवेशन चितवनमा सारिएको छ । यसबाट बादल उत्साही भएका छन् ।
एमाले महाधिवेशन चितवनमा गर्ने तय भएपछि प्रचण्डको चुनावी क्षेत्र दौडाहा तिव्र भएको छ । चितवनमा कठिन चुनाव लड्नुपर्ने भएबाट प्रचण्ड यसपटकको चुनावमा देश दौडाहा खासै गर्न नपाउने अवस्था पनि बन्न सक्ने देखिएको छ ।
प्रचण्ड चितवन नछाड्ने र बादल हराइछाड्ने रणनीतिमा छ । एउटै पार्टीमा लामो समय काम गरेका दुई नेताबीच चुनावी भिडन्तको सम्भावना बढ्दै गएको छ ।