Logo

माओवादीले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने, जीवनबहादुर शाहीलाई धक्का



काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने भएको छ । महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा राजीनामा नदिने भएपछि वेटिङ मुख्यमन्त्री मानिएका नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई धक्का लागेको हो ।

विश्वस्त स्रोतका अनुसार कर्णालीको साटो माओवादी सुदूरपश्चिममा मुख्यमन्त्री छाड्न तयार देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र समेत भएकाले त्यहाँ त्रीलोचन भट्टलाई राजीनामा गराएर काँग्रेस सांसदलाई मुख्यमन्त्री बनाउने पहल सुरु भएको छ ।

शाहीलाई मुख्यमन्त्रीबाट रोक्न खोजिएपछि काँग्रेसको राजनीतिमा तरंग आउने देखिएको छ । उनी कर्णालीमा बलियो पकड भएका नेता हुन् । देउवानिकट शाहीले हुम्लामा चीनसँगको सीमा समस्याबारे कुरा उठाएका थिए । यसले उनलाई चर्चामा पुर्याएको थियो । शाही पूर्व पर्यटनमन्त्री पनि हुन् ।

महेन्द्रबहादुर शाही अर्को चुनावसम्म मुख्यमन्त्री रहने सम्भावना बढेर गएको छ । कर्णालीमा माओवादीले प्रभाव बलियो बनाएर आगामी चुनावमा सफलता हासिल गर्ने रणनीति समेत बनाएको छ ।

यसअघि शाहीले विश्वासको मत लिंदा काँग्रेस र माओवादीबीच आधा आधा कार्यकाल मुख्यमन्त्री रहने भद्र सहमति बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्