Logo

केराउ, मरिच, छोकडा र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो



काठमाडौं, कात्तिक १३। नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ ।

केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको बताएको छ । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको बताएको हो ।

केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए। यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।

छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले बताएको छ ।

त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिंदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउविजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउविजनको मात्र विक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्