काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्ली इलेक्शनको विपक्षमा उभिएका छन् । उनले आवधिक चुनावबाहेक बीचमा चुनाव हुन सम्भव नभएको प्रष्ट पारेका छन् ।
प्रचण्डले शनिबार जनकपुर पुगेर मध्यावधि चुनाव सम्भव नभएको बताएका हुन् । सत्ता गठबन्धनभित्रै अर्ली इलेक्शनको विषय उठिरहँदा प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो ।
सत्ता गठबन्धनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अर्ली इलेक्शनको पक्षमा छन् । उनले निकटस्थमार्फत् अर्ली इलेक्शनको विषय उठाइरहेका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि अर्ली इलेक्शनको पक्षमा छैनन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि यसको विपक्षमा छन् ।
काँग्रेसभित्र कम्युनिस्ट पार्टी फुटेको अवस्थामा अर्ली इलेक्शन गर्दा फाइदा हुने विश्लेषण भइरहेको छ ।-File Photo