Logo

वाइडेन-मोदी त्यो भेटको सन्देश



समाचार विश्लेषण । विश्वका २० शक्तिशाली देशहरुको रोम सम्मेलनमा एउटा दृश्यले विश्वको ध्यान खिचेको छ । त्यो दृश्यमा अमेरिकी राष्ट्रपति जोय वाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छन् ।

वाइडेनले मोदीलाई अङ्गालो हालेका छन् । मोदी त्यतिबेला निकै प्रफुल्लिन मुद्रामा छन् । दुवैले मुठ्ठी कसेका छन् । मोदीले दाहिने हात र वाइडेनले देब्रे हात मुठ्ठी कसेका हुन् ।

सम्मेलनको साइडलाइनमा भएको भेटमा वाइडेन र मोदी दुवैले एक भएर विश्वको बदलिंदो राजनीतिक परिस्थितिमा बढ्ने सन्देश दिन खोजेका छन् । पछिल्लो समय अमेरिका र भारतबीच कतिपय रणनीतिक मामलामा साझेदारी बनेको छ । क्वाड देशहरुको समूहमा अमेरिका र भारत दुवै छन् जसमा जापान र अष्ट्रेलिया पनि छ । चीनको बढ्दो चुनौतीको सामना गर्ने रणनीतिक योजना अनुसार क्वाड सक्रिय भइसकेको छ ।

विश्वभर चीनले प्रभाव बढाउँदै लाँदा दक्षिण एशियामा पनि असर देखिइसकेको छ । अफगानिस्तानमा अमेरिकी सैनिक हटेपछि चीनको प्रभाव बढेको छ । पाकिस्तानमा चिनियाँ प्रभाव निकै बढेको छ । अन्य देशहरुमा पनि यही अवस्था देखिएको छ । यसलाई दृष्टिगत गरी अमेरिकाले भारतसँग हातेमालो गरेर दुरगामी असर पर्ने खालका रणनीतिक योजना अनुसार बढाएको छ ।

नेपाल मामलामा चीनको बढ्दो प्रभावपछि अमेरिका र भारत मिलेर प्रस्तुत भएको देखिइरहेको छ । पछिल्लो समय सत्ता संघर्षमा शक्तिराष्ट्रहरुको रणनीतिक गठबन्धनको असर देखिइसकेको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपालको संसदबाट पारित गराउन दबाब छ । यसको पक्ष या विपक्षमा दल मात्र नभई नेता विशेष विभाजित भएका छन् ।

नेपाल मामलामा अमेरिका पछिल्लो समय धेरै सफल देखिदै गएको छ । उसले भारतसँग मिलेर नेपाल मामलामा रणनीतिक योजनाहरु अगाडि सार्ने संकेतहरु पनि देखिइसकेको छ । नेपालको राजनीतिमा भारतको बढी चासो हुनु र अमेरिकाले भारतसँग मिलेर जाने गरी समूह नै सृजना गर्नुले पनि नयाँ घटनाक्रम विकास हुँदै गएको छ ।

अमेरिकाले नेपाल मामलामा भारतसँग मिलेर काम गर्ने योजनाहरु अगाडि सार्दै लगेको छ । एमसीसी ऊर्जामा बढी लगानीको विषय हुनु र त्यसको सम्बन्ध भारतसँग पनि छ । यसकारण पनि नेपाल मामलामा अमेरिका र भारत एकातर्फ देखिदै गएका छन् । चीन अर्कातर्फ देखिन्छ । यसको तरंग राजनीतिक दलहरुमा समेत परिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्