Logo

पाँच दिने तिहार : यमपञ्चक



– दिवाकर प्रधान :
             संस्कृत भाषाको ‘तिथि-वार’ शब्दबाट त्यौहार हुँदै नेपालीमा तिहार भनिएको हो ।
             दिवाली वा दीपावलि पो एक दिनको हुन्छ तर गोर्खा जातिको तिहार हुन्छ पाँच दिन | पाँचवटा तिहार पाँच दिन मनाइन्छन् | यसकारण हामीले ‘शुभ तिहार’ (ह्याप्पी तिहार) नै भन्नुपर्ने हुन्छ | सिरियल-सिनेमा हेरेर सिको गरी ‘ह्याप्पी दिवाली’ भन्नु त एक दिने पर्वलाई मात्र प्रोन्नत गरेको हुन्छ | अरू चारवटा पर्व बिर्सनु राम्रो होइन | पाँच दिने तिहारले मानव सभ्यताको विकासक्रम इङ्गित गर्दछन् –
१. काग तिहार = समाज निर्माण र सभ्यताको आग्रह
२. कुकुर तिहार = आविष्कार, अन्वेषण, निष्ठा
३. गाई तिहार = कृषि युग
४. गोरु तिहार = उद्योग युग
५. भाइ तिहार = समाज विधान, नीति निर्धारण
तिहार-चर्चा
त्रयोदशीमा काग तिहार
“काक: चेष्टा”
कागले जस्तो चेष्टा गर्नू ।
– हितोपदेशम्
               कागलाई पुर्खाको प्रतीक मानिन्छ | उनीहरूकै कर्मको कारणले सभ्यता र संस्कृतिको विकास भयो र हामी त्यसमा थप्दैछौँ | प्राकृतिक सफाइकर्मी समूहमा खान्छन् काम गर्छन् अनि एकता र विकासका लागि आग्रह गर्छन् | हामी भन्छौँ – “शुभ बोल् शुभ बोल्” | काग एकलकाँटे हुँदैनन् । समूहमा बस्छन्, समूहमा खान्छन्, सडेका-गलेका-कुहेका खाए पनि पचाउँछन् । भोजन भेटे अरू कागलाई पनि डाक्छन् । मिलेर प्रकृति सफा गर्दछन् । यसैले कागलाई पर्यावरण-प्रिय पक्षी र सफाईकर्मी मानिन्छ ।
             आयुर्वेदका जनक धन्वन्तरिको जन्मदिवस पनि कार्तिक कृष्णपक्ष त्रयोदशीमै हो | बेपारीले चाहिँ रहल-पहल सामग्री बेचिहाल्न ज्योतिषीको, पात्रो बनाउनेको अनि विज्ञापनको सहायता लिएर धनतेरसलाई प्रोन्नत गर्दैछन् । उपभोक्ताले पत्याउन थालेको धेर भएको छैन | स्टक क्लियरेन्स गर्न धर्मको सहारा लिएको मात्र हो । तेरस भनेको त्रयोदश हो अर्थात् तेह्र । धन आउने त्रयोदशी भनेर हल्ला पिटे । वास्तवमा स्वास्थ्यचाहिँ सबैभन्दा ठूलो धन हो । त्यो स्वास्थ्य-धन दिने आदि वैद्यको नाम पो धन्वन्तरी हो । यिनलाई मानवलाई निरोगी बनाउने आयुर्वेद शास्त्रका पिता मानिन्छ । भाँडा पसलमा हानथाप गरिगरी चुहेका कुच्चेका भाँडा किन्नुभन्दा आचार्य धन्वन्तरी जयन्तीको नाममा निरोगी हुने अभ्यास गरेको राम्रो हो । काग स्वच्छता र सभ्यताको उद्घोषक हो ।
चतुर्दशीमा कुकुर तिहार
“श्वान निद्रा”
कुकुरजस्तो सुत्नू ।
– हितोपदेशम्
            सबैभन्दा हेय मानिने सुँगुरलाई वराहको रूपमा पूजा गरिन्छ, डरलाग्दो साँपलाई नाग भनी मानिन्छ | त्यस्तै कुकुरलाई हेय मान्दामान्दै पनि पुजिन्छ | पूजा गरेपछि डराउनु र हेला गर्नुपर्ने हाम्रो जीवनमा केही बाँकी रहँदैन | प्रेमको प्रचार हुन्छ |
          कागले उद्घोष गरेर मानवलाई सभ्यतातिर प्रेरित गरे भने कुकुरले मानिसलाई सभ्य हुन सहयोग गरे। नञा ठाउँ आविष्कार गर्न सघाए | कुकुर पथ-प्रदर्शक रहेर युगौँदेखि मानव-मित्र रहे | मिस्र, युनान, चीनका पुराकथामा जस्तै भारतीय पुराकथा (मिथक)-मा कुकुरका कैञौ उल्लेख पाइन्छन् –
 इन्द्रकी एउटी सरम नामकी अप्सराको एउटा सन्तान यमराजको श्वान (कुकुर) बनेको कथा ऋग्वेदमा पाइन्छ । युधिष्ठिरलाई स्वर्गसम्म डोहोऱ्याउँदै लाने पशु कुकुर थियो भन्ने वर्णन महाभारतमा पाइन्छ । हुन त त्यस बेला त्रिविष्टप पर्वत अर्थात् तिब्बतलाई स्वर्ग मानिन्थ्यो । कुकुरले बाटो खोलेपछि अरू पनि खुरुखुरु स्वर्ग पुग्ने भए । स्वर्ग पुऱ्याउनमा पुरोहितको आवश्यकता नपर्ने हुनथालेपछि पुराणकालमा पुरोहितहरूले स्वर्गलाई आकाशतिर नभेटिने ठाउँमा छ भन्ने कथा गरुडपुराणतिर लेखे । रुद्र, नैऋति, वीरभद्र, भैरव, खण्डोबा, दत्तात्रेय आदि देव-देवताहरूका वाहन पनि कुकुर छन् । पथप्रदर्शन, विश्वास र स्वामीभक्तिले गर्दा प्राचीनकालदेखि कुकुर मानवको मित्र बने । एक दिन विशेषमा पूजा गरेपछि हेप्ने र घिनाउने प्रश्नै आउँदैन । कुकुर आविष्कारको प्रतीक हो ।
 औँसीमा गाई तिहार
भैलेनी आयौँ आँगन
बडारी-कुलारी राख न !
ए औँसीको दिन हो
गाई तिहार हो भैलो |
          कागले सभ्य हुने आह्वान गरे, कुकुरले नञा गाउँ-ठाउँ खोज्न सघाए भने गाईले मानिसलाई कृषियोग्य बनाए | प्रिय र पूज्य गाईले गर्दा मानव सभ्यता कृषि युगमा पुग्यो | यसरी गाई पृथ्वीको प्रतीक बन्यो । गाईले सधैँ दिने र पाल्ने काम गर्ने हुनाले गौ माता मानिए । भारतीयका लागि गाई जीवन र जीवनकै प्रतिनिधि सिद्ध भए । गाई पूजाबाट मानिसले प्रकृति प्रदत्त सदाचार बोध गरे । मुक्तात्माले आध्यात्मिक ज्ञान दिएजस्तै गाईले अन्न, पानी र घाँस खाएर दुग्धामृत दिने हुनाले ‘गावो विश्वस्य मातर:’ अर्थात् गाई विश्वकै आमा हुन् भनियो | मान्छेलाई सभ्य हुने लक्ष्यमा पुराउने लक्ष्मी नै गाई थिए | प्राचीन कालमा गाईलाई मात्र धन मानिन्थ्यो | धातु, भूमि र प्राकृतिक सम्पदाले देश सम्पन्न थियो | प्राचीन ग्रन्थमा नायकलाई धेरै गाईका धनी देखाइन्थ्यो | भागवतले श्रीकृष्णलाई धनी देखाउन गोविन्द वा गोपाल भन्यो | गाईका चार पाउ वा लक्ष्मीका चार हातलाई चार पुरुषार्थ मानिन्छ – धर्म, अर्थ, काम र मोक्ष | दूध, तर् , घिउ, गोबर र गौँथलाई पवित्र पञ्चगव्य मानिन्छ |
            लक्ष्मीलाई पवित्रताको प्रतीक मानिन्छ | हिलोमा पनि स्वच्छ रहने कमलमा बस्छिन् | अप्रिय अवस्थामा पनि अनुकूलित (adjust) हुन्छिन् | लक्ष्मीको वाहन लाटकोसेरोले राति पनि आँखा देख्छ अर्थात् सबै सुतेका बेला ऊ जाग्रत हुन्छ – ‘या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी’ – अँध्यारोमा पनि उज्यालो देखेजस्तै अज्ञानमा ज्ञान, असत्यमा सत्य, मृतमा अमृत देख्नेको प्रतीक हो लाटकोसेरो । बल र वैभव तथा पानी र वर्षाको प्रतीक हात्तीसित पनि लक्ष्मीलाई देखाइन्छ |  सुनको बुट्टा कुँदिएको लक्ष्मीको रातो लुगा सौन्दर्य र सम्भ्रान्तको प्रतीक हो | रुपिञा-पैसा मात्र धन होइन | मान्छे मन र विचारले पनि धनी हुन सक्नुपर्दछ | धन त एउटी लक्ष्मी हुन् तर जम्मा आठ लक्ष्मी छन् – धन लक्ष्मी, ध्यान लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी, धीर-वीर लक्ष्मी, जय-विजय लक्ष्मी, विद्या लक्ष्मी, ऐश्वर्य लक्ष्मी, (कतिमा सौभाग्य लक्ष्मी, राज्य लक्ष्मी, वर लक्ष्मी पनि) ।
           लक्ष्मीको नाममा ‘वन्दे गौ मातरम्’ भनी गाई पुजिन्छ । बेलुकी दीपको आवलि (लहर) बनाइन्छ । भगवान् बुद्धले ‘अप्प दीपो भव’ अर्थात् आफ्नो दीयो आफै बन भनेझैँ ज्योत्स्यनाको प्रतीक दीयो जलाइन्छ । पटेका नपड्काउँदा पनि हुन्छ । पटेकाले पर्यावरण बिगार्छ, ध्वनि प्रदूषण र वायु प्रदूषण अहिले विश्वकै समस्या भएको छ ।
प्रथमामा गोरु तिहार
             कागले सभ्यता उद्घोष गरे, सहयोगी कुकुरले पथ-निदेश गरे, गाईले कृषि युगमा पुऱ्याए अनि गोरुको सहायता लिएर उद्योग विकास गर्न मानव अघि बढे | गोरु औद्योगिक युगको प्रतीक हो | प्राचीन कालमा गाईलाई मात्र धन (लक्ष्मी) मानिन्थ्यो | जति अधिक गाई उति अधिक धनी | काव्य-नायक कृष्णलाई धनी देखाउन त्यसैले गोपाल भनियो | गोवर्धन पर्वत उठाउन सकेको त्यसै होइन | गाईको सङ्ख्या बढाउन समाजशास्त्रीहरूले गोरु नखाने निदेश गरे | सभ्यताको विकासमा गाई-गोरु सहयोगी सिद्ध भएकाले लक्ष्मी र नन्दीका रूपमा पुजिए | नर र नारी एकार्काका पूरक हुन्छन् | गाईलाई गोरुले थाम्छन् वा वर्धन गर्छन् | त्यसैले गोवर्धन | पाहाडको नामै गोवर्धन अर्थात् धनी पाहाड़ |
              मानवलाई कृषि युगदेखि उद्योग युगमा लैजाने पशु गोरु हुनाले गोरु तिहार मनाइन्छ | कल्याणकारी देव शिवजीको वाहन यसैले नन्दी भयो | गोरु भारतमा मात्र नभई (हाम्रो नन्दीजस्तै) मिस्र देश (इजिप्ट)-मा अपिस र मेसोपोटामिया (इराक)-मा मर्दुक ई.पू.३००० वर्षअघिदेखि मानिँदै आएको थाहा लाग्दछ | गोरुलाई बल, संस्कार र उद्योगको प्रतीक मानिन्छ | महाभारत तथा पुराणहरूमा श्रीकृष्णलाई गोवर्धन पर्वत उचाल्नसक्ने देखाइएको छ | गोरुतिहारमा गोर्खाले बलिहाङ (बलिराज) उपाख्यान जोड़ेर देउसी खेल्छन् |
              नेवारले यस दिन म्ह पूजा गर्छन् । म्ह भनेको शरीर हो । स्वस्थ शरीर र स्वच्छ आत्मामा परमात्माको वास हुन्छ । यसरी आफै ब्रह्म हुन्छ – ‘अहं ब्रह्मास्मि’ । माटोबाट बनेको हाँडी माटै भएजस्तै ब्रह्मबाट बनेको जीव पनि ब्रह्म नै हो भन्ने बोध गर्ने पर्वलाई म्ह पूजा भनिएको हो । आत्मशुद्धि कामना गर्ने यस दिनदेखि नेवारी नव वर्ष आरम्भ हुन्छ । नेवार ज्योतिष शङ्खधर साख्वाँले यो पात्रो २० अक्टोबर ८७९-मा थालेका थिए । चन्द्र पात्रो हुनाले यसमा १५-१५ दिनका जम्मा २४ पक्ष हुन्छन् । यसपालि म्हपूजादेखि नेपाल सम्वत् अर्थात् नेवारी पात्रोमा वर्ष ११४१ थालिँदैछ ।
द्वितीयामा भाइ तिहार
             कागबाट सभ्यतालाई उद्घोष भयो, कुकुर आविष्कारका सहयोगी भए, गाईले कृषि र गोरुले उद्योग गराए, तब पो समाज सुगठित भएर भार्तृत्वका लागि तत्पर भए | सभ्य मानिसले तब समाजका लागि नीति-नियम बनाए । यमलाई यमुनाले नियम सिकाएको प्रतीकात्मकता भाइ तिहारबाट सिद्ध हुँदछ | यम भनेको अनुशासन हो । जन्म र मृत्युलाई अनुशासित गर्ने पाठ सिक्न यम यस दिन यमुना नदीमा जाँदछन् भन्ने जनश्रुति छ । प्रवाहशील नदीलाई साहित्यदर्शनमा ज्ञानस्रोत वा ज्ञानको प्रतीक पनि मानिन्छ । यम र यमुनाको मेललाई विश्व भार्तृत्वको सङ्केत मान्नुपर्दछ । भार्तृत्वले नै समूह सङ्गठित हुने र नीतिवत् बनेर सभ्य मानव समाज निर्माण हुने ज्ञान भाइ तिहारले दिँदछ ।
               यसरीति पाँच दिने तिहार अर्थात् यम पञ्चकले मानव सभ्यताका पाँच चरण इङ्गित गरेको ठान्नुपर्दछ । यम पञ्चकको वैज्ञानिकता यही हो ।
०००



प्रतिक्रिया दिनुहोस्