काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा नदेखिएको महिनौं भइसकेको छ । कुनैबेला एउटै दलका अध्यक्ष रहेका दुई नेताहरु पार्टी विभाजनपछि एक अर्काविरुद्ध उत्रिएका छन् ।
ओली र प्रचण्ड एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने गरी प्रस्तुत भएका छन् । दुवै नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । उनीहरु पार्टी विभाजनको दोष एक अर्कामाथि लगाइरहेका छन् ।
प्रचण्डले ओलीमाथि गणतन्त्र विरोधीको आरोप लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रसँग निकटता बढाएको सूचना पाएको दाबी गरेका छन् । ओलीले पनि प्रचण्डलाई दक्षिणपन्थीको आरोप लगाएका छन् ।
ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राम मन्दिर बनाएको भन्दै प्रचण्डले ओलीमाथि आक्रोश पोख्ने गरेका छन् । धर्मनीरपेक्ष विरोधीको आरोप लगाएका छन् । चितवनलाई कुरुक्षेत्र बनाउन खोजेको भन्दै ओलीलाई कौरवको संज्ञा दिएका छन् ।
ओलीले पनि चितवनको माडी पुगेर राम मन्दिरमा पूजा गरेका छन् । उनले प्रचण्डलाई बाँदरमुढेमा बम पड्काएर कुरुक्षेत्र बनाएको आरोप लगाए ।
ओलीले प्रचण्डलाई चितवनबाट चुनाव हराउने बताउँदै आएका छन् । प्रचण्डले भने आफ्नो दलले बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।
काँग्रेसले छोरी बोकेको भन्दै प्रचण्डमाथि सोमबार व्यङ्ग्य गर्दै भने,‘काँग्रेसले छोरी बोक्छ भने हामी पनि बाऊ बोक्छौं भनेर लाग्यौं ।’
प्रचण्डले छोरी रेनु दाहाललाई धाँधली गरेर चुनाव जिताएको आरोप लगाए । उनले भने,‘वत्ती निभाएर मतपत्र च्यातेर जे गरेर हुन्छ चुनाव जित्छु भनेका छन् ।’
प्रचण्डले ओलीप्रति व्यङ्ग्य गर्दै आफ्नो छोराछोरी हुनु दोष नभएको टिप्पणी गरेका थिए । दुवै नेता हदैसम्म आरोप प्रत्यारोपमा उत्रिएका छन् ।