समाचार विश्लेषण । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारो मधुमास अवधि पूरा भएलगत्तै विदेश भ्रमणको सुरुवात गरेका छन् । पाचौंपटक प्रधानमन्त्री हुँदा उनको पहिलो विदेश गन्तव्य बेलायत बन्यो । बेलायतमा अध्ययन गरेका देउवा संयुक्तराष्ट्रसंघले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन त्यता गएका थिए । जहाँ विश्वभरका नेताहरु सहभागी थिए ।
देउवाले बेलायतमा औपचारिक अनौपचारिक भेटवार्ताहरु गरे । जसमध्ये तीनवटा भेट महत्वपूर्ण बन्यो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग देउवाले दुईपटक भेटे । एउटा भेट अनौपचारिक र अर्को औपचारिक थियो । देउवासँगको भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल पनि थिए । यसकारण पनि यो भेट निकै महत्वपूर्ण बन्यो ।
देउवा पाचौंपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक मोदीसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच द्वीपक्षीय हितमा कुराकानी भएको जनाइएको छ । भारतको नेपाल मामलामा चासो बढ्दै जाँदा यो भेट भएको हो । नेपालमा बाह्य शक्तिको प्रतिष्पर्धाले आन्तरिक राजनीति प्रभावित बन्दा देउवाले मोदीसँग विशेष कुराकानी गरेको बुझिएको छ ।
मोदीसँगको भेट आफैमा अर्थपूर्ण हो । यो भेटपछि नेपाल र भारतबीचको सम्बन्ध कसरी अगाडि बढ्छ उत्तिकै चासो बनेको छ । देउवाले निकट भविष्यमै भारतको भ्रमण गर्ने भएका छन् । त्यो भ्रमण पूर्व बेलायतमा भएको भेट महत्वपूर्ण भएको छ ।
देउवाले अमेरिकी राष्ट्रपति जोय वाइडेनसँग अनौपचारिक भेटवार्ता गरे । अमेरिकी सहयोगसम्बन्ध मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्न अमेरिकाले आग्रह गरिरहँदा यो भेट भएको छ । अमेरिकाको नेपालमा चासो उत्तिकै बढेको छ । चीनसँग विश्वभर प्रतिष्पर्धा गरिरहेको अमेरिकाले नेपालमा चासो बढाउँदा यहाँको आन्तरिक राजनीतिमा निकै परिवर्तनहरु देखिनथालेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि देउवाले भेटवार्ता गरे । बेलायतको पनि नेपालसँग पुरानो सम्बन्ध छ । यहाँ उसको चासो उत्तिकै छ । यसकारण पनि यो भेट सन्देशमूलक देखिएको छ ।