Logo

देश, जनता र पार्टीका लागि फेरि पनि ओलीकाे नेतृत्व आवश्यक छ: रायमाझी                            



काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीकाे आवश्यकता रहेकाे बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे ।

आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “केही नेताहरूकाे बहिर्गमनपछि एमाले वैचारिक र राजनीतिक रूपमा झन् ऊर्जाशील भएकाे छ । याे नयाँ एमाले हाे ।  याे विगतकाे नेकपाकै निरन्तरता हाे । त्यसैले एमालेकाे पक्षमा व्यापक जनलहर छ । फेरि पनि एमाले एक नम्बर पार्टी बन्छ ।”

अहिले  परमादेशका कारण मात्र एमाले प्रतिपक्ष भएकाे हुनु परेकाे उनले दाबी गरे । उनले भने, “संसारभरि सत्तापक्षविरुद्ध गठबन्धन हुन्छ । यहाँ त प्रतिपक्षविरुद्ध चुनावसम्म महागठबन्धन गर्ने भनिएकाे छ । याे पराजित मानसिकताकाे उपज हाे । एमालेसँग एक्लै लड्ने हैसियत र हिम्मत कसैसँग छैन ।”

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाकाे राजीनामा मागेर अरू न्यायाधीशहरू पानीमाथिकाे ओभानाे बन्न नपाउने रायमाझीले बताए । उनले भने, “सेटिङ गरेर परमादेश जारी गरेकाे पर्दाफास भइसकेकाे छ । गठबन्धनले जनादेशकाे अपमान गरी लाेकतन्त्रविराेधी हर्कत गरेकाे छ । प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाकाे राजीनामा मागेर अरू न्यायाधीशहरू पानीमाथिकाे ओभानाे बन्न पाउँदैनन् ।”



प्रतिक्रिया दिनुहोस्