Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु खुसीकै कुरा हो : डा. शेखर कोइराला (भिडिओसहित)



काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुरसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई कसरी संयुक्त पत्र लेख्न मिल्छ भनी प्रश्न गरेका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. कोइरालाले भने, “एमसीसीलाई पत्र पठाएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्ड जानुअघि भनेर गएको भए पनि हुन्थ्यो, फर्केर आएपछि किन भन्नुभयो ? देशको प्रधानमन्त्री र एउटा पार्टीको अध्यक्षले एमसीसीलाई संयुक्त पत्र लेखेर दिन मिल्छ कि मिल्दैन ? प्रधानमन्त्रीले कुन हैसियतले पत्र लेखनुभएको हो ? सभापतिको हैसियतमा कि प्रधानमन्त्रीको ? एमसीसीमा अब खेलाँची गर्नुहुँदैन ।”

नेपाली कांग्रेस एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा रहे पनि यसमा विपक्षी एमालेको पनि साथ लिनुपर्ने डा. कोइरालाले बताए । उनले भने, “एमसीसी संसद्को बिजनेस हो । पत्र लेखेर मात्र संसद्बाट पास हुने होइन । फेरि यो राजनीतिक दलहरुको मात्र नभएर नागरिकहरुले चासो दिएको विषय हो । यसमा एमालेलाई पनि साथ लिएर जानुपर्छ । यो विवाद बढाउने भन्दा दलहरुसँग सरसल्लाह गर्नुपर्ने विषय हो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु लागि खुसीकै कुरा हुने उनले बताए । उनले थपे, “देउवाजी भारत जानु या मोदीजी नेपाल आउनुमा अन्यथा लिने कुरा छैन । भारतसँग हाम्रो सम्बन्ध नराम्रो पनि होइन । छिमेकी मुलुकबीच कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि आउन सक्छ । यो विश्वभरिकै अनुभव हो ।”

कांग्रेसका सभापति, पदाधिकारी, पूर्वपदाधिकारीले तीन वटै निर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहेको खुलासा गर्दै डा. कोइरालाले आम कार्यकर्ताले नमानेकाले मंसिरभित्र गर्नुको विकल्प नरहेको बताए । उनले भने, “क्रियाशील सदस्यताको विवाद कार्यकर्ताले गरेका होइनन्, सभापति, पदाधिकारी, पूर्व पदाधिकारी, उच्चस्तरीय छानबिन समिति, क्रियाशील छानबिन समितिले गरेका हुन् । अब महाधिवेशन हुन्छ, त्यसको विकल्प छैन ।”

आफू नेतृत्व परिवर्तन र सुदृढ कांग्रेस बनाउनका लागि लागिरहेको उनको दाबी छ । उनले भने, “१३ जिल्लाको अधिवेशन भइसकेको छ । त्यसमा कसको कति आएको छ भन्ने खुलस्थ भएको छ । डडेल्धुरा देउवाकै गृहजिल्ला हो, उहाँले जे भने पनि मान्थे कार्यकर्ताले । त्यहाँ पुलिस प्रशासन प्रयोग गरेर अधिवेशन गर्नुभयो । देशभरि त्यस्तो  गर्नुभएन भने परिणाम के आउँछ, हामीलाई थाहा छ ।”

चौधौं महाधिवेशनमा तपाईंको समूहबाट आठ जना सभापतिको आकांक्षी हुनुहुन्छ, कसरी सभापति जित्नुहोला भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “तपाईं किन हाम्रो मात्र कुरा गर्नुहुन्छ ? विवाद देउवाको समूहमा छैन ? विमलेन्द्रजी, गोपालमानजीको कुरा किन गर्नुहुन्न ? महाधिवेशनमा सभापतिको मनोनयनको दिन साझा उम्मेदवारी आउँछ । कसको कति पकड छ, भन्ने महाधिवेशनले बताउँछ ।”

पन्ध्रौं महाधिवेशन युवाहरुको महाधिवेशन हुने पनि उनले बताए । उनले भने, “युवा पनि कसलाई भन्ने ? २०, ३० वर्ष नेपाली कांग्रेसमा लागेको मानिसलाई युवा भन्ने कि नभन्ने ? अब युवा पुस्तालाई रोक्ने चान्सै छैन ।” नेता डा. कोइरालाले बाढी/पहिरोले १० अर्बको धानबाली सखाप भएको र १०० जनाको मृत्यु भएको भन्दै अब राहत दिन ढिलाइ गर्नुनहुने बताए ।

फरक प्रसंगमा डा. कोइरालाले आगामी तीन तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको बताए । उनले भने, “आगामी चुनावमा गठबन्धन एक भएर लड्ने कुरा देउवाले प्रधानमन्त्रीको हैसियतले बोल्नुभएको होला, सभापतिको हैसियतले बोल्नका लागि पार्टीमा कुनै छलफल भएको छैन । नेपाली कांग्रेसको आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ । अहिले सभापति र प्रधानमन्त्री देउवा देउवाजी हुनुहुन्छ । महाधिवेशनपछि आउने नयाँ नेतृत्वले यसबारे छलफल गर्छ । प्रधानमन्त्री देउवाले पनि नेतृत्वसँग छलफल गर्नुहोला ।”



प्रतिक्रिया दिनुहोस्