Logo

चीनले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दुई देशको संयुक्त कार्यदल निर्माणमा कर्णालीका मुख्यमन्त्री शाहीको जोड



काठमाडौं, २० कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीनले अतिक्रमण गरेको भूभाग फिर्ता गराउन आफू सशक्त रुपमा प्रस्तुत हुने स्पष्ट पारेका छन् । उनले आज ऋषि धमलासँगको अन्तवार्तामा सीमा समस्या समाधानका लागि दुवै देशको संयुक्त कार्यदल बनाएर काम गर्नुपर्नेमा समेत जोड दिए ।

‘अतिक्रमित भू-भाग फिर्ता गराउन म सक्रिय हुनेछु,’ मुख्यमन्त्री शाहीले भने, ‘चीनसँगको सीमा समस्या समाधानका लागि दुवै देशको संयुक्त कार्यदल बनाएर जान सकिन्छ ।’

शाहीले हुम्लामा अतिक्रमित भूभाग फिर्ता गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । नेपाल सरकारका तर्फबाट बनेको कार्यदलले प्रतिवेदन बुझाइसकेको र त्यसले मात्र सीमा समस्याको समाधान नहुने बताए । चीनका तर्फबाट पनि समस्या सुनेर संयुक्त रुपमा सम्बोधनको पहल हुनुपर्नेमा जोड दिए ।

आफूले कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुभन्दा अगाडि नै सीमा समस्याबारे आवाज उठाएको बताए । अब पनि समस्या समाधानका लागि पहल गरिरहने स्पष्ट पारे ।

चीनले अतिक्रमण गरेको भूभागबारे ऋषि धमलाले प्राइम टाइम्स टेलिभिजन, रिपोर्टर्स नेपाल डट कम, रेडियोलगायतका सञ्चारमाध्यमबाट आवाज उठाएकोमा खुलेर प्रशंशा गरे । उनले भने, ‘चीनले सीमा अतिक्रमण गरेको भूभागबारे मिडियामा ऋषि धमलाले आवाज उठाउनुभयो, यसकारण तपाईंलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

चीनले अतिक्रमण गरेको भूभागबारे प्राइम टाइम्स टेलिभिजन र रिपोर्टर्स नेपाल डट कमले निरन्तर समाचार प्रकाशन र प्रसारण गरेको थियो । तथ्यसहित यो विषय उठाउँदा सरकारमाथि समेत दबाब परेर अध्ययन कार्यदल समेत बनेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्