Logo

बारले आन्दोलन गर्दैमा प्रधानन्यायाधीश हट्ने सम्भावना म देख्दिन् : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अदालतभित्र धेरै कमजोरी रहेको टिप्पणी गरेका छन् । उनले भने,‘अदालतभित्र रहेका तमाम प्रवृत्तिको बारेमा बहस गर्नुपर्यो । हामी आज एउटा व्यक्ति, एउटा पात्रको बारेमा मात्रै बहस गरिरहेका छौं । प्रधानन्यायाधीशसँगको आग्रह देखाउँदै अर्को कुनै अमुक मान्छेलाई प्रधानन्यायधीश बनाउँदै, आज समस्या चाहीँ प्रधानन्यायाधीश फेर्ने हो कि त्यहाँभित्रको पेशीको प्रणालीलाई अटोमेशनमा राख्ने कुरा हो। आज अर्को बन्ने प्रधानन्यायाशीको आग्रह के थियो भने फलानो प्रधानन्यायाधीशले गरेको सेटिङ मैले गर्न पाउनुपर्छ भन्ने छ । अर्को मुख्य न्यायाधीशको मनमा के छ भने त्यो कुरा छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अदालतभित्र रहेका विकृति तथा विसंगतिलाई हटाउनुपर्ने र यसको लागि के गर्नुपर्ने हो त्यो गर्न आफूहरु तयार रहेको सुनाए। उनले भने,‘न्यायालयलाई स्वच्छ बनाउनेतर्फ बहस गरौं । छलफल गरौं । न्यायपरिषदलाई एक्टिभ बनाऔं ।’

नेता बस्नेतले आफ्नो पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाएर समस्या समाधान नहुने निश्कर्ष निकालेको सुनाए । प्रधानन्यायाधीश जबराले राजीनामा दिने वा नदिने त्यो जबराको व्यक्तिगत कुरा भएको उनको भनाई छ । उनले एमालेले आग्रहको राजनीति नगर्ने जिकिर गरे । उनले सर्वोच्च अदालत राजनीतिक दलजस्तो हुन नहुने टिप्पण गरे । उनले नेपाल बारको आन्दोलनलाई गाईजात्राको संज्ञा दिएका छन् । यो आन्दोलन गर्दैमा प्रधानन्यायाधीश जबरा हट्ने सम्भावना आफूले नदेखेको पनि उनले दाबी गरे । उनले भने,‘बारले र न्यायाधीशहरुले सरकारसँग र प्रतिपक्षीसँग कुरा गर्नुपर्छ । सरकारले के गर्नुपर्यो त्यो ढंगले छलफल गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्