Logo

व्यासको आन्तरिक आम्दानी १५ करोड



तनहुँ, २२ कात्तिक । तनहुँको व्यास नगरपालिकाले रु १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो ।

उक्त अवधिमा रु २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो ।

नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधन लगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट रु पाँच करोड २५ लाख ३७ हजार ४० सङ्कलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट रु नौ करोड ८० लाख आन्तरिक आय हुने लक्ष्य राखेको थियो ।

सम्पत्तिकर रु एक करोड १४ लाख २० हजार ७८४, मालपोतबाट रु ५३ लाख ४६ हजार ९२७, घरबहालबाट रु ७५ लाख ९६ हजार ४२५, घरभाडा करबाट रु एक करोड ६५ लाख ९८ हजार ६२२, मेसिनरी उपकरणबाट रु ५९ हजार ३००, लिलाम बिक्रीबाट रु २४ हजार, मिलापत्रबाट रु २२ हजार ५२०, सिफारिसबाट रु एक करोड २८ लाख पाँच हजार दुई २१६, विविध फारमबाट रु दश लाख दुई हजार ७८१, अन्य प्रशासनिक सेवाबाट रु ६८ लाख ३७ हजार ६३७, सवारी पार्किङबाट रु आठ लाख १७ हजार ९० सङ्कलन गरेको छ ।

घरनक्शा पासबाट रु एक करोड ४१ लाख ५२ हजार २३०, नाता प्रमाणितबाट रु दुई लाख ६७ हजार ७३५, अन्य विविधबाट रु चार लाख ८६ हजार १२० र दर्ता र नवीकरणबाट रु १९ लाख ३३ हजार एक सय सङ्कलन भएको छ । त्यस्तै दण्डजरीवानाबाट रु छ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट रु १६ लाख ३४ हजार ६१९, सरसफाइबाट रु ६५ लाख ७३ हजार ४८९, स्थानीय वातावरण शुल्कबाट रु ७६ लाख ५९ हजार २३७, व्यवसाय करबाट रु १८ लाख ९८ हजार १०२ सङ्कलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्