Logo

घट्यो वाणिज्य बैंकहरूको निक्षेप



काठमाडौं, कार्तिक २५। यो साता वाणिज्य बैंकहरूले ४२ खर्ब ३८ अर्ब निक्षेप संकलन गरेको छ । यो अघिल्लो साताको तुलनामा ९ अर्बले कम हो ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै २७ वाणिज्य बैंकहरूबाट ३१ अर्ब निक्षेप घटेको छ । असोज मसान्तसम्म यी बैंकहरूमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४२ खर्ब ३८ अर्बमा झरेको छ ।

वाणिज्य बैंकहरूले स्वदेशी तथा विदेशी दुबै मुद्रामा यो निक्षेप संकलन गरेको हो । कात्तिकमा असोजको तुलनामा निक्षेप घटिरहेको छ । तर यहीं अवधिमा कर्जा प्रवाह भने बढेको छ । कात्तिक महिनामा मात्रै यी बैंकले थप २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज मसान्तसम्म कुल ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४० खर्ब २५ अर्ब पुगेको छ ।

कातिक महिनामा निक्षेप घट्दा बैंकहरूमा लगानी योग्य रकमको अभाव हुन थालेको छ । यसै क्रममा राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको । बैंकहरूले राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ सापटी सुविधा (एसएलएफ) पनि लिएका छन् ।

नेपाल राष्ट्र बैंकले कर्जा विस्तारलाई निरुत्साहित गर्ने लक्ष्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा निक्षेप ‘सीडी’ अनुपात कार्यान्वयनमा ल्याएपछि तरलता अभाव बढेको हो ।

राष्ट्र बैंकले विगतको कर्जा पुँजी निक्षेप ‘सीसीडी’ अनुपात हटाएर सीडी अनुपात कार्यान्वयनमा ल्याएपछि बैंकहरूलाई समस्या हुन थालेको थियो ।

राष्ट्र बैंकले अर्थतन्त्रमा उत्पादकत्व बढ्न नसकेको तथा बढ्दो आयातका कारण शोधान्तरस्थितिको घाटा बढेको एवं विदेशी मुद्राको सञ्चितिमा दबाब परेकाले कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको हो ।

तरलता अभावको समस्या देखिन थालेपछि निक्षेप आकर्षित गर्नका लागि मुद्दतीको ब्याजदर बढाउने होडमा लागेका वित्तीय संस्थालाई राष्ट्र बैंकले यसअघि नै अंकुश लगाइसकेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्