सुर्खेत, कार्तिक २७ । कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ । क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो ।
अधिवेशनबाट वडाको नेतृत्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । सुर्खेतका ९९ वडा र डोल्पाका ६५ वडामा बिहान ८ बजेदेखि अधिवेशन सुरु हुँदैछ ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गर्ने गरी सबै तयारी पूरा भएको जानकारी दिए । डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो । जसले गर्दा यसअघि निर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।
कैलालीमा आजदेखि वडा अधिवेशन सुरु
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमापनि आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हँदैछ । अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको छ।
कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको छ । वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् । जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् ।