काठमाडौँ, २७ कात्तिक। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै निरुपण हुने बताएका छन् । विराटनगरमा आज (शनिबार) पत्रकारहरूसँगको कुरकानीको क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘न्यायालयभित्रको समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नुहुन्छ, एकाध दिन ढिलोचाँडो मात्रै हो । अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन किनकि दुनियाँमा कहीँ पनि यस्तो चलन छैन । त्यसैले गठबन्धनले समस्याको समाधान सम्बन्धित निकायबाटै चाहेको हो।’ मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकोले संशोधन गरेर परिमार्जन गर्नुपर्ने अध्यक्ष यादवको जोड थियो।
‘अहिलेको संविधानलााई संशोधन गरेर परिमार्जन गर्नु नै राम्रो हुन्छ किनकि संशोधन हुन नसके मात्रै अन्य विकल्प खोज्ने हो,’ उनले भने, ‘संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ । तर, अहिलेको सत्तारुढ गठबन्धनसँग त्यो छैन, त्यसका लागि अर्ली इलेक्सन एउटा पाटो हो ।’
संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताए । नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए ।-File Photo