Logo

आज विश्व मधुमेह दिवसः गाउँ पनि असुरक्षित रहेनन्



काठमाडौं, कार्तिक २८ । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् ।

पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् १९९१ देखि आज अर्थात् १४ नोभेम्बरमा विश्वभर विश्व डायबेटिज दिवसका रुपमा मनाउन थालेका हुन् । यही दिन डाक्टर फ्रेडरिक ग्रान्टको जन्म भएको थियो ।

उनले चाल्र्स बेस्टसँग मिलेर एक सय वर्ष पहिले इन्सुलिनको खोजी गरेका थिए । त्यसैले यो दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउन थालिएको हो ।

इन्टरनेसनल डायबेटिज फेडेरेसनका अनुसार विश्वभर लगभग ४२५ करोड भन्दा धेरै मानिसहरु मधुमेहबाट पीडित छन् । मधुमेहका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा बिशेष ध्यान पुर्याउनु पर्छ ।

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरिरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने सम्भावना हुन्छ । उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्छ । मानव शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दै गएमा पनि मधुमेह हुने संभावना हुन्छ ।

गर्भवती महिलालाई मधुमेहको समस्या छ भने बच्चामा मधुमेह देखिने खतरा धेरै हुन्छ । मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्