काठमाडौं, २८ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह बिहिबारबाट सम्पर्कविहिन भए । सभापतिको दाबेदार प्रस्तुत गर्दै देश दौडाहामा रहेका सिंह अचानक सम्पर्कविहिन भएपछि चासो बढ्यो ।
सिंह सुटुक्क दक्षिणको छिमेकी भारत गएको खुल्यो । उनी सात वर्षपछि भारत छिरेका हुन् । अनौपचारिक रुपमा विदेश नजाने स्वभावका सिंहको यसपटकको भारत यात्रा अर्थपूर्ण छ । उनले भारतमा केही प्रभावशाली व्यक्तिहरुसँग भेटेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भारतको धारणा बुझेर फर्किएका छन् ।
काँग्रेस महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा सिंह भारत छिर्नुले तरंग नै ल्याएको छ । पछिल्लो समय सिंहको भारतसँग सम्बन्ध सुदृढ हुँदै गएको बुझिएको छ । उनले शक्तिशाली देशहरुसँग व्यक्तिगत रुपमा सम्बन्ध विकास गरेसँगै उत्साही भएका छन् ।
सिंहसँग पछिल्लो समय भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुले पनि सम्बन्ध विकास गरेको बुझिएको छ । गत वर्ष गान्धी जयन्तीमा आयोजित भर्चुअल कार्यक्रममा सिंह पनि वक्ता हुँदा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले बोलेका थिए । यसलाई पनि अर्थपूर्ण मानिएको छ ।
७ वर्षपछि प्रकाशमान सिंह भारत यात्रामा गएका हुन् । सन् २०७१ सालमा महामन्त्री हुँदा तत्कालीन काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको टोलीमा सिंह पनि भारत भ्रमणमा गएका थिए । त्यतिबेला कोइरालाले सिंह र अर्का महामन्त्री कृष्णप्रसाद सिटौला दुवैलाई साथ लगेका थिए ।
सिंह शनिबार साँझ भारत भ्रमणबाट फर्किएसँगै निकटस्थहरुले चासो बढाएका छन् । काँग्रेस कार्यकर्तामाझ पनि सिंहको यात्राले तरंग ल्याएको छ । उनी पछिल्लो समय शक्ति बढाउँदै जान सकेका छन् । सभापति देउवाविरुद्ध आफू सशक्त रुपमा प्रस्तुत भएर चुनाव जित्न सक्ने दाबी गर्दै आएका छन् ।